
काठमाडौं । दरबारमार्गमा निर्माण हुँदै गरेको पाँचतारे होटलसहितको व्यापारिक भवन अन्नपूर्ण स्क्वायरले २५ तले भवन बनाउन नपाउने भएको छ । ३ सय ३० कोठासहितको होटल र व्यापारिक महल बनाउन नक्सापासका लागि काठमाडौं महानगर पालिका पुगेको अन्नपूर्ण स्क्वायरको लक्षित उचाईमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाइदिएको छ ।
महानगरले अग्ला भवनको नक्सापास गर्दा प्राधिकरणबाट राय लिनुपर्छ । उक्त रायमा प्राधिकरणले विमानस्थलबाट १० किलोमिटर भित्र अप्स्ट्याकल लिमिटेसन सरफेस (ओएलएस) अनुसार १९ तलाभन्दा माथि जान नमिल्ने सुझाव दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले क्लिकमान्डुलाई जानकारी दिए ।
ओएलएस अनुसार अन्नपूर्ण स्क्वायर मात्रै नभएर अरु भवनले पनि हवाई उडानमा चुनौती दिने गरी बनाउँन पाउँदेनन् । यो नियम अनुसार बनिसकेको भवन पनि भत्काउन पाउने व्यवस्था छ । ओएलएस अनुसार उडान तथा अवतरण गर्दा जमिनको अप्स्ट्याकलबाट ५ सय मिटर भन्दा माथि जहाज हुन्छ । सो भन्दा कम उचाईमा भौतिक पूर्वाधार हुनुपर्छ ।

दरबारमार्गको ५ तारे होटल डेल अन्नपूर्ण भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ र लिटिल एन्जल्सका सञ्चालक उमेश श्रेष्ठ समूहले होटलको बहुमत शेयर खरिद गरेपछि यसलाई अन्नपूर्ण स्वायर बनाएर नयाँ ब्राण्डिङ स्थापित गर्दै छन् । यो होटलमा भारतीय प्रिमियर होटल ब्राण्ड आईटीसी वेलकम आउने समझादारीसमेत भइसकेको छ ।
नेपालमा ५ दशक भन्दा लामो व्यवसायिक विरासत बोकेको अन्नपूर्ण होटललाई गुरुङ/श्रेष्ठ समूहले लिएर अन्नपूर्ण स्क्वायर बनाएका हुन् । यो होटललाई अन्तर्राष्ट्रिय चेन बनाउने भनेर गत वर्षको असोज १७ मा अन्नपूर्ण स्क्वायर र भारतीय चेन होटल आईसीटी हस्पिटालिटीबीच सम्झौता भएको थियो ।
अन्नपूर्णमा नयाँ सञ्चालक भित्रिएसँगै होटल पूरै भत्काएर नयाँ बनाउने काम धमाधम सुरु भइरहेको छ । यो होटलको हालको क्षेत्रमा नयाँ संरचनामा बनाउने र २०८५ को वैशाखदेखि सञ्चालनमा ल्याउनेसम्मको तयारी अन्नपूर्ण स्क्वायरले गरेको छ । यसका अध्यक्ष मीनबहादुर गुरुङ हुन् ।
होटलमा ६ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने अनुमान नयाँ लगानीकर्ताको छ । यो होटल अन्तराष्ट्रिय चेन भएसँगै नेपालको हालसम्मकै ठूलो क्षमताको होटल हुने भएको छ । होटल परिसममै विजनेस कम्प्लेक्ससहितको ४० वटा अपार्टमेन्टसमेत हुने उल्लेख छ ।








प्रतिक्रिया