सिद्धार्थ बैंकको नाफासँगै लाभांश क्षमतामा सुधार, १३.२२ प्रतिशत दिनसक्ने

497
Shares

काठमाडौं । व्यवसाय विस्तारसँगै आम्दानीमा भएको वृद्धिले सम्भावित कर्जा नोक्सानी व्यवस्थाको लागि गरेको प्रोभिजन बढेपछि सिद्धार्थ बैंकको नाफा बढेको छ ।

बैंकको नाफामा सुधार र ब्याज असुली पनि सकारात्मक हुँदा बैंकको नाफासँगै लाभांश क्षमतामा पनि सुधार भएको छ ।

बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ३९ करोड ५३ लाख नाफा कमाएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ८ करोड नाफा कमाएकोमा गत आर्थिक वर्षमा १०.२४ प्रतिशतले बढेको हो ।

बैंकको खुद ब्याज आम्दानी र खुद फी तथा कमिसन आम्दानीमा वृद्धि भएको छ। त्यस्तै बैंकको गैरसञ्चालन आम्दानी र ट्रेडिङ आम्दानीमा पनि वृद्धि भएको हो। बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड ९९ लाख पुगेको छ । त्यस्तै खुद फि तथा कमिसन आम्दानी १५.०९ प्रतिशतले बढेर १ अर्ब ६४ करोड १५ लाख पुगेको छ । त्यस्तै बैंकको नेट ट्रेडिङ आम्दानी ४२ करोड ४२ लाख र अन्य सञ्चालन आम्दानी ६५ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

बैंकको कुल सञ्चालन आम्दानी ९ अर्ब ९७ करोड ७३ लाखबाट ११.८२ प्रतिशतले बढेर ११ अर्ब १५ करोड ६८ लाख पुगेको छ । यता बैंकको सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन १ अर्ब ५ करोड ११ लाख रुपैयाँबाट बढेर १ अर्ब ३१ करोड ५४ लाख रुपैयाँ पुग्दा पनि बैंकको सञ्चालन नाफासँगै खुद नाफा बढेको हो ।

बैंकको सञ्चालन नाफा ४ अर्ब ८४ करोड ४५ लाख रुपैयाँबाट बढेर ५ अर्ब २ करोड ९९ लाख पुगेको हो । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८६ पैसाबाट बढेर २४ रुपैयाँ १० पैसा पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ १९ पैसा पुगेको छ ।

बैंकको व्यवसाय बढेसँगै आम्दानीमा भएको सुधारले बैंकको नाफ उल्लेख्य बढेको छ । यस्तै पछिल्लो वर्षहरुमा ब्याज असुलीमा समस्या देखिएकोमा गत आर्थिक वर्षमा ब्याज असुलीमा सुधार हुँदा नाफासँगै वितरणयोग्य नाफामा पनि सुधार भएको हो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड २८ लाख पुगेको छ । यसबाट लाभांश क्षमता १३.२२ प्रतिशत छ।

अघिल्लो आर्थिक वर्षमा ५८ करोड मात्रै रहेको बैंकको वितरणयोग्य नाफा गत आर्थिक वर्षमा उल्लेख्य बढेको हो । बैंकको म्युचुअल फण्ड र अन्य इक्वीटी लगानीबाट आर्जन भएको प्रतिफल ४७ करोड ९९ लाख रुपैयाँ पुगेको छ । यस्तै विगतमा उठ्न नसकेको ब्याज ३३ करोड १७ लाख ब्याज उठाएर नियामकीय जगेडाबाट सञ्चित नाफामा रिजर्भ भएको छ । यस्तै गैरबैंकिङ सम्पत्ति बिक्री हुँदा नियामकीय जगेडाबाट सञ्चित नाफामा ९ करोड ७२ लाख ट्रान्सफर भएको छ । जसले बैंकको वितरणयोग्य नाफा उल्लेख्य बढेको हो ।

बैंकको निक्षेप २ खर्ब ४१ अर्ब ३३ करोड रुपैयाँबाट बढेर २ खर्ब ८० अर्ब ३२ करोड पुगेको छ । यस्तै कर्जा लगानी १ खर्ब ९५ अर्ब ४७ लाखबाट बढेर २ खर्ब १४ अर्ब ५४ करोड पुगेको हो । १४ अर्ब ९ करोड चुक्ता पुँजी रहेको बैंकको सञ्चित नाफा १ अर्ब ८६ करोड २८ लाख र जगेडाकोषमा १५ अर्ब ४ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

नाफामा सुधार हुँदा बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.८८ प्रतिशत पुगेको छ । त्यस्तै २.१७ प्रतिशतबाट बढेर २.६२ प्रतिशत पुगेको छ । खुद निष्क्रिय कर्जा ०.६६ प्रतिशत पुगेको हो । बैंकको आधार दर ६.४२ प्रतिशत छ भनेर मूल्य आम्दानी अनुपात १५.९३ गुणा छ ।