विमानस्थलमा चरा र स्याल ‘आतंक’: केही दिनमै ९ घटना

959
Shares

काठमाडौं । केही सातायता प्रत्येक दिन नेपालका विमानस्थलमा जहाजहरु ग्राउण्डेड भइरहेका छन् । विमानहरूमा प्राविधिक समस्या आएका कारण ती विमानहरु ग्राउण्डेड भएका भने होइनन् । विमानमा चरा ठोक्किने घटानामा वृद्धि हुँदा पछिल्लो समय विमानहरू ग्राउण्डेड हुनुपर्ने अवस्था बनेको हो ।

स–साना चरा ठोक्किनाले पनि जहाज ग्राउण्डेड हुनुपर्ने अवस्था आउँदा एयरलाइन्स कम्पनीहरुले घाटा व्यहोर्नु परिरहेको जनाएका छन् ।

उडान अवतरणमा रहेका जहाजसँग चरा ठोक्किँदा ज्यानधनको ठूलो क्षति भएको विभिन्न तथ्यांकहरु रहेका छन् ।

जनकपुर विमानस्थलमा विगत दुई दिन यता रात्रि उडानमा चरा ठोक्किने घटनाक्रम बढेका छन् । यसले जहाजको उडान अवतरणलाई निकै जोखिममय बनाएको छ ।

जनकपुर विमानस्थलमा पछिल्ला केही दिनका घटना

जुन १३ – दिउँसो अवतरणका क्रममा बर्ड स्ट्राइक (चरा ठोक्कियो)
जुन २६ – विहान अवतरणका क्रममा बर्ड स्ट्राइक
जुलाई ५ – रनवेमा जहाजसँग स्याल ठोक्किएको
जुलाई १८ – विहान अवतरण क्रममा बर्ड स्ट्राईक
जुलाई २३ – रनवेमा स्याल देखिँदा जहाज काठमाडौं फिर्ता
जुलाई ३० – अवतरणका क्रममा बायाँ इञ्जिनको प्रोपेलरमा चरा ठोक्किदा प्रोपेलर क्षतिग्रस्त
५ अगस्ट – रात्रिकालिन अतवरणका क्रममा चरा ठोक्किएको
६ अगस्ट – रात्रिकालिन अतवरणका क्रममा बायाँ इञ्जिनको प्रोपेलरमा चरा ठोक्किदा प्रोपेलर क्षतिग्रस्त

त्यसैगरि आज पनि बिहान पनि काठमाडौं भद्रपुर उडानमा जहाज ओभरसुट भएको थियो । कारण फेरि विभिन्न चरा । विभिन्न सञ्चारमाध्यमहरू र सामाजिक सञ्जालमा विमानस्थलभित्र चितुवा, स्याल देखिएका भिडियोहरु प्रस्सतै भेट्न सकिन्छ ।

विमानस्थलभित्र रहेका झाडी एवं घाँस समयमा उखेल्न र त्यसको व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले वेवास्ता गर्दा वर्षाको समयमा विमानस्थल आसपास चरा र स्यालको गतिविधि बढ्ने गरेको छ ।

झाडी अथवा घाँस फडानी नगर्दा यस्तो समस्या बढ्नु स्वभाविक भएको एयरलाइन्स कम्पनी बताउँछन् । वर्षाको बेला रनवे वरिपरि किरा निस्कदा चराहरु झुम्मिने गर्छन् । यी स–साना समस्याहरुलाई समयमै ध्यान नदिँदा उडानहरु जोखिममय बन्दै गएको उनीहरुको भनाइ छ ।

चरा ठोक्किएपछि जहाजलाई मिहिन ढंगले परीक्षण गर्नुपर्छ । मर्मतसम्भार गर्दा थप समय खर्चिनु पर्छ । यसले उडान विलम्व तथा रद्द गर्नुपर्ने पनि हुन्छ । समयमै उडान भर्न नपाउँदा विमान कम्पनी तथा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

नियमित मर्मतसम्भार अत्यन्तै महँगो हुँदै गइरहेको अवस्थामा यस्ता समस्याले झन् विमान कम्पनीहरुको आर्थिक व्ययभार बढाएको एयरलाइन्स कम्पनीहरूको भनाइ छ ।

तर, नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वले भने यसमा ध्यान दिन सकेको छैन ।

बुध्द एयरले बर्ड तथा एनिमल एक्टिभिटिज रोकथामका लागि सरोकारवाला निकायसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताएको छ ।

विमानस्थल वाहिर सडेगलेका खाद्यपदार्थ, सिनो नफाल्न जनजागरण कार्यक्रम गर्न पनि आवश्यक रहेको बुध्द एयरको भनाइ छ।