११ करोड ठगी आरोप लागेका सेयर ब्रोकर श्रीवास्तवविरुद्ध ३ दिन म्याद थप

119
Shares

काठमाडौं । ठगी गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका सेयर ब्रोकर कम्पनी सिप्रबी सेक्युरेटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवविरुद्ध तीन दिन म्याद थप भएको छ ।

ठगी आरोपमा श्रीवास्तवविरुद्ध जाहेरी परेको थियो । बुधबार उनी आँफै काठमाडौं जिल्ला प्रहरी परिसर पुगेका थिए । आफैं उपस्थित भएका श्रीवास्तवलाई नियन्त्रण्ममा लिएर अनुसनधान सुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

श्रीवास्तवको सिप्रबी सेक्युरिटिजले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने साढे ११ करोड रुपैयाँ नदिएको भन्दै उनीविरुद्ध ठगी आरोपमा जाहेरी परेको थियो ।

केही दिनअघि सेयर कारोबारको लेनदेनको विषयमा ठगीको जाहेरी परेपछि सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल पक्राउ परेका थिए । सिप्रबी सेक्युरिटिज र अग्रवालबीच सेयर कारोबारको लेनदेनको विवाद चल्दै आएको छ ।

धितोपत्र बोर्डले अध्ययनका क्रममा अग्रवाल र उनका परिवार संलग्न व्यक्तिहरु समेतको कारोबार उनले गरेको विभिन्न आधारहरु फेला पारेको थियो । अग्रवालले कारोबार गर्ने विभिन्न व्यक्तिहरुमध्ये २ जनाले सिप्रबी सेक्युरिटिजले सेयर कारोबारको भुक्तानी नदिएको भन्दै प्रहरीमा उजुरी दिएका हुन् ।

मिता मुरारका अग्रवाल र ज्योति अग्रवालले आफूहरूले पाउनु पर्ने ११ करोड ५५ लाख नपाएको भन्दै जिल्ला प्रहरी परिसरमा उजुरी गरेको स्रोतको दाबी छ ।

उनीहरुले दिएको उजुरीको आधारमा श्रीवास्तवलाई नियन्त्रण्मा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

दिपेन्द्र अग्रवालले नै मिता तथा ज्योतिसहित दजर्नभन्दा धेरै व्यक्तिको नाममा ब्रोकरको ब्यालेन्स नै नभएको करोडौंको चेक धरौटी राखेर कारोबार सिमा मिनेर सूचीकृत कम्पनीको मूल्य उचाल्ने गरेको पाइएको थियो ।

‘कतिपय अवस्थामा अग्रवालले कारोबार गर्ने विभिन्न व्यक्तिको नामबाट एउटाले खरिद गर्ने र अकोले बिक्री गर्ने गरेको र मूल्य उचाल्ने गरेको देखिएको थियो,’ बोर्ड स्रोतले भन्यो, ‘अग्रवालले कारोबार गर्ने विभिन्न व्यक्तिको नाममा बैंक खातामा रकम नै नभए पनि करोडौंको चेक धेरौटी राखेर त्यसको ४ गुणा सीमा लिएर कृत्रिम अर्डर देखाउने र मूल्य उचाल्ने गरेको देखिन्छ ।’

ब्रोकर कम्पनी र दिपेन्द्रबीच विगतमा सहकार्य भए पनि पछिल्लो समय कारोबार विवाद बढ्दै गएको थियो । रकम भुक्तानीको विषयमा सुरुमा दिपेन्द्रलाई ठगी आरोपमा पक्राउ गरी अनुसन्धान भयो भने अहिले दिपेन्द्रले नै सेयर कारोबार गर्दै आएका सेयर ब्रोकर कम्पनीका महाप्रबन्धक श्रीवास्तव पक्राउ परेका हुन् ।