‘कुलिङ अफ पिरियड हटाउन संलग्नको नामसहित छानबिन होस्’

147
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले संघीय निजामति सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ हटाउने प्रक्रियामा सहभागी व्यक्ति र कारबाही स्पष्ट रूपमा उल्लेख गरेर छानबिन प्रतिवेदन ल्याउनुपर्ने माग गरेका छन् ।

उनले राजनीतिक र प्रशासनिक हस्तक्षेपका कारण कुलिङ अफ पिरियडको व्यवस्थामा छलछाम गरिएको टिप्पणी गरे ।

संसदको गरिमा जोगाउन यस्तो हस्तक्षेपमा संलग्न दोषीहरूलाई किटान गरेर छानबिन प्रतिवेदन आउनुपर्नेमा उनले जोड दिए ।

सांसद ज्वालाले आठ अर्बभन्दा बढी मूल्यको पासपोर्ट छपाइ ठेक्का टुक्राएर सेटिङमार्फत दिन खोजिएको भन्दै आपत्ति जनाए ।

उक्त ठेक्का रद्द गरी पारदर्शी ढंगले नयाँ ठेक्का प्रक्रिया अगाडि बढाउनुपर्ने उनले बताए ।

‘संसदको गरिमाका लागि पनि सत्ता र राजनीतिक, प्रशासनिक नेतृत्वको नाङ्गो हस्तक्षेपका बाबजुद संघीय निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरूको नाम र कारबाही किटान गरेर आओस् भन्ने कुरामा म जोडदार माग गर्दछु । आठ अर्बभन्दा बढी पासपोर्ट छपाइको ठेक्का टुक्र्याएर सेटिङमा दिनेगरी घप्लाबाजी गरेकोले उक्त ठेक्का खारेज गरी नयाँ ठेक्का प्रक्रिया अगाडि बढाइयोस् । प्रहरी र सशस्त्र प्रहरीको बन्दोबस्तीको सामान खरिदको विषयमा पनि मिलोमतो भइरहेको छ । सो ठेक्का पनि खारेज गरी पारदर्शी तरिकाले गरियोस्,’उनले भने ।