
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा लागू गरिएका उच्च आयातशुल्क अर्थात् ट्यारिफले संघीय सरकारका लागि नयाँ राजस्व स्रोत सिर्जना गर्न थालेको छ ।
कर्जामा डुबेको राष्ट्रको लागि यो रकम भविष्यको भरपर्दो आर्थिक आधार बन्न सक्ने अनुमान गरिएको छ ।
ट्रम्पले वैश्विक व्यापार प्रणालीलाई पुनःसंरचना गर्नका लागि थालेको अभियान अन्तर्गत अमेरिकाका प्रमुख व्यापारिक साझेदारहरूमाथि उच्च दरको ट्यारिफ लागू गरेका हुन् । अधिकांश नयाँ ट्यारिफहरू बिहीवारदेखि लागू हुने भए तापनि हालसम्म ट्यारिफबाट उठेको राजस्वमा दोब्बर वृद्धि देखिएको छ ।
अमेरिकाको ट्रेजरी डिपार्टमेन्टको तथ्यांक अनुसार, यस आर्थिक वर्षको जुलाईसम्म आयात कर र केही अन्य करहरूबाट १५२ अर्ब डलर संकलन भइसकेको छ । गत वर्षको ७८ अर्ब डलरको तुलनामा यो झन्डै दोब्बर रकम हो ।
ट्रम्पले यसलाई आफ्नो व्यापार नीति सफल भएको प्रमाणका रूपमा प्रस्तुत गर्दै आएका छन् । उनका अनुसार, यी ट्यारिफबाट प्राप्त रकमले पछिल्लो ३४ अर्ब डलर बराबरको कर कटौतीबाट भएको घाटा पनि पूर्ति गर्नेछ ।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ट्यारिफमार्फत अर्बाैं डलर अमेरिका भित्रिनु राम्रो खबर हो ।’
यी ट्यारिफहरू यथावत रहन गएमा आगामी १० वर्षभित्र २० खर्ब डलरभन्दा बढी राजस्व संकलन हुन सक्ने विश्लेषकहरूले अनुमान गरेका छन् । यद्यपि अर्थशास्त्रीहरू यसलाई विषम कर प्रणालीका रूपमा हेर्छन् र यसको दीर्घकालीन उपयोगको विरुद्धमा उभिएका छन् ।
पेन्सिलभेनिया विश्वविद्यालयका अर्थशास्त्री जोआओ गोम्स भन्छन्, ‘यो त कुलतजस्तै हो । कर्जाले ग्रस्त देशमा एकपटक राजस्वको स्रोत बनिसकेपछि त्यसबाट टाढिन गाह्रो हुन्छ ।’
ट्रम्पले सधैं १९औं शताब्दीको अन्त्यतिर लागू भएको अमेरिकी कर प्रणालीको प्रशंसा गर्दै आएका छन् । त्यसबेला आयकरको व्यवस्था थिएन र सरकार पूर्ण रूपमा ट्यारिफमा भर परिरहेको थियो । यद्यपि हाल पनि आयकर र ‘पेरोल’ कर नै सरकारी राजस्वको मुख्य स्रोत हुन् । ट्रम्पका ट्यारिफ र पछिल्लो रिपब्लिकन करकटौतीले देशलाई बिस्तारै वस्तुमाथि लगाइने करतर्फ धकेलिरहेको देखिन्छ ।
विशेषज्ञहरूका अनुसार, ट्यारिफले आयात हुने सामानहरूको मूल्य बढाउँछ । यसले मध्यम र निम्न आय भएका अमेरिकीहरूलाई बढी असर गर्छ । उनीहरूले आफ्नो आम्दानीको ठूलो हिस्सा दैनिक प्रयोग गरिने महँगा सामानहरूमा खर्च गर्ने भएकाले उच्च आय भएका व्यक्तिहरूको तुलनामा उनीहरूमा करको बढी असर पर्छ ।
कम्पनीहरूले उपभोक्तासम्म पुग्ने सामानको मूल्य बढाउन थालेका छन् र समग्र अर्थतन्त्रमा असर पर्ने चिन्ता समेत बढेको छ ।
येल विश्वविद्यालयको बजेट ल्याबका निर्देशक एर्नी टेडेस्की भन्छन्, ‘के राजस्व बढाउने योभन्दा राम्रो तरिका छैन ? आर्थिक हिसाबले धेरै तरिकाहरू छन् । तर यो मुख्यतः राजनीतिक प्रश्न हो ।’
उनका अनुसार, भविष्यका राष्ट्रपति वा सांसदहरू ट्यारिफ हटाउन हिचकिचाउन सक्छन् किनभने त्यसले संघीय घाटा अझै बढाउने खतरा हुन्छ । ट्यारिफबाट आएको राजस्व हटाउने हो भने संसद्ले वैकल्पिक कर प्रणाली ल्याउनुपर्ने हुन्छ । त्यो राजनीतिक रूपमा कठिन कार्य हो ।
ट्रम्पले भने ट्यारिफको राजस्वबाट अमेरिकी जनतालाई ‘क्यास रिबेट’ अर्थात् नगदमा छुट दिन सकिने सम्भावनाको चर्चा गरेका छन् । मिसौरी राज्यका रिपब्लिकन सांसद जोश हलीले पनि हालै अमेरिकी जनतालाई ६०० डलर रकम दिन प्रस्ताव गरिएको विधेयक संसदमा पेश गरेका छन् ।
तर डेमोक्य्राटहरू पनि यो राजस्वलाई सामाजिक कार्यक्रमहरूमा प्रयोग गर्ने लोभमा पर्न सक्छन् । खासगरी कर वृद्धि जस्तो कठिन निर्णय लिन सक्ने अवस्था नरहेमा उनीहरूले आयातशुल्कबाट प्राप्त राजस्वलाई परिचालन गर्ने निर्णय लिन सक्छन् ।
डेमोक्य्राटिक रणनीतिकार टाइसन ब्रडी भन्छन्, ‘यो त धेरै ठूलो रकम हो । अहिले पार्टीभित्र आयातकर हटाउने भन्दा पनि त्यसको सदुपयोग गर्ने रणनीति सजिलो छ भन्ने धारणा बन्न थालेको छ ।’
भविष्यमा कम्पनीहरूले अमेरिकामा उद्योग फिर्ता ल्याएछन् भने आयात हुने सामानहरूको संख्या घट्नेछ र त्यससँगै ट्यारिफबाट हुने राजस्वमा पनि गिरावट आउनेछ ।
ग्राउन्डवर्क कोलाबोरेटिभका एलेक्स ज्याक्वेज भन्छन्, ‘यो स्पष्ट रूपमा राजस्व उठाउने सबैभन्दा दक्ष तरिका होइन । दीर्घकालीन प्रगतिशील सोचका लागि यो उपयुक्त नीति पनि होइन ।’
तर तत्कालका लागि ट्रम्पका ट्यारिफहरूले अमेरिकी अर्थतन्त्र र राजनीति दुवैमा गहिरो बहस निम्त्याएको छ । सरकारलाई तात्कालिक राजस्व चाहिएको बेला उपभोक्ताहरूमाथि मूल्यवृद्धिको मार भने अझै स्पष्ट हुँदै गइरहेको छ ।








प्रतिक्रिया