
एजेन्सी । शीतयुद्धको समयमा संयुक्त राज्य अमेरिका र सोभियत संघ लामो दूरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्र र भूउपग्रहजस्ता अत्याधुनिक प्रविधिको विकास गर्न कडा प्रतिस्पर्धा गर्थे । अहिले भने कृत्रिम बुद्धिमत्ता (एआई) र भावी पुस्ताको ऊर्जा क्षेत्रमा प्रतिस्पर्धा केन्द्रित भएको छ ।
एआईको क्षेत्रमा अमेरिका अन्य कुनै पनि देशको तुलनामा धेरै अगाडि रहेको छ, यद्यपि चीनले उसलाई कडा टक्कर दिइरहेको देखिन्छ । ऊर्जा क्षेत्रमा भने अमेरिका पछि परेको अवस्था छ । प्रविधि, अर्थतन्त्र वा राष्ट्रिय सुरक्षाका कारण नभई राजनीतिले गर्दा ऊर्जा क्षेत्रमा अमेरिका पछि पर्दै गएको छ ।
गत जनवरी महिनामा फेरि राष्ट्रपति बनेपछि डोनल्ड ट्रम्पले कोइला, तेल र ग्यास उद्योगहरूलाई ठूलो फाइदा पुग्ने निर्णय लिएका छन् । यो अनौठो कुरा होइन किनभने ट्रम्पले लामो समयदेखि अमेरिकाको जीवाष्म इन्धन उद्योगको समर्थन गर्दै आएका छन् र पुनः निर्वाचित भएयता उनले त्यस उद्योगमा जोडिएका पैरवीकर्ताहरूलाई उच्च राजनीतिक पदमा नियुक्त गरेका छन् ।
ट्रम्प प्रशासनका अनुसार, राष्ट्रिय सुरक्षा कायम राख्नका लागि नवीकरणीय ऊर्जामा दिएको सहुलियत हटाउनु र मृत अवस्थामा पुगेको कोइला उद्योगलाई राजनीतिक सञ्जीवनी दिनु आवश्यक छ ।
तर वास्तविकता के हो भने सन् २०१९ यता अमेरिकाले बर्सेनि जनताको मागभन्दा धेरै कोइला, तेल र ग्यास उत्पादन गरिरहेको छ । बढी भएको इन्धन विदेशी बजारमा निर्यात भइरहेको छ । अमेरिका अहिले विश्वकै प्रमुख जीवाष्म इन्धन निर्यातकर्तामध्ये एक हो ।
संक्षेपमा भन्नुपर्दा, अमेरिकासँग ऊर्जा सुरक्षाको समस्या छैन । बरू, अमेरिकासँग ऊर्जाको लागत र जलवायु परिवर्तनको बढ्दो संकट जस्ता समस्याहरू छन् । जीवाष्म इन्धनप्रतिको ट्रम्पको मोहले यी समस्याहरू झनै गहिरिनेछन् ।
गत ६ महिनामा ट्रम्प प्रशासनले पछिल्ला पाँच वर्षको हरित औद्योगिक नीति उल्ट्याएको छ । यसले अमेरिकाको ऊर्जा नवप्रवर्तनको घाँटी निमोठ्ने गरी अर्बौं डलर बराबरको करछुट र अनुदानहरू फिर्ता लिएको छ ।
उता चीन भने स्वच्छ ऊर्जा विकासमा तीव्र गतिमा अघि बढेको छ । बेइजिङले वायु, सौर्य र भावी पुस्ताको ब्याट्री प्रविधिमा दोब्बर लगानी गर्दै सन् २०२४ मा बाँकी विश्वभन्दा बढी सौर्य र वायु ऊर्जा जडान गरेको छ । अमेरिकाले स्वेच्छाले नै स्वच्छ ऊर्जाको प्रतिस्पर्धाबाट पछि हट्नु चीनका लागि सहज जीत साबित भएको छ ।
ट्रम्पले ड्रिल, बेबी, ड्रिल भन्ने पुरानै नारा दोहोर्याइरहँदा चीन भने लिथियम र निकल जस्ता महत्त्वपूर्ण खनिजमा पकड बनाउँदै र निर्यात साझेदारहरू सुनिश्चित गर्दै अघि बढिरहेको छ । हाल विश्वका लगभग पाँचमध्ये एक लिथियम–आयन ब्याट्री चीनमै निर्माण हुन्छ । धेरैजसो नयाँ प्रविधियुक्त ब्याट्रीहरू चीनमै विकास गरिँदैछन् र पेटेन्ट भइसकेका छन् ।
यसैबीच, ट्रम्पको वान बिग ब्युटिफुल बिल एक्टले सन् २०३५ सम्म अमेरिकी परिवारहरूले प्रत्येक वर्ष औसत १७० डलरभन्दा बढीको ऊर्जा खर्च गर्ने अनुमान गरेको छ । यस कानुनले कर, सामाजिक सुरक्षा लगायतका विषयमा व्यापक परिवर्तन गर्ने भए पनि सस्तो र भरपर्दाे नवीकरणीय ऊर्जामा दिइएको सहुलियत हटाएकाले ऊर्जा लागत बढ्ने भएको हो ।
ट्रम्पले ठूलो स्तरको स्वच्छ ऊर्जा विकासलाई प्रशासनिक अवरोध थपेर कठिन बनाउने प्रयासलाई अघि बढाएकाले ऊर्जा लागत झनै बढ्न सक्छ । ट्रम्प प्रशासनले हालै जारी गरेको निर्देशनअनुुसार, केन्द्र सरकारको आधिपत्यमा रहेको भूमिमा जडान गरिने वायु र सौर्य परियोजनाका सामान्य गतिविधिहरूलाई समेत गृह मन्त्रालयको अनुमतिपछि मात्र अगाडि बढाउन पाइनेछ ।
यसैबीच, जलवायु परिवर्तनको प्रभाव अमेरिकी समुदायहरूमा हरेक वर्ष तीव्र रूपमा बढिरहेको छ । टेक्ससमा हालै आएको भीषण बाढी, क्यालिफोर्निया र हवाई राज्यका शहरमा लागेको आगलागीले अब धेरै अमेरिकीहरूसँग जलवायु परिवर्तनलाई नजरअन्दाज गर्ने सुविधा बाँकी नरहेको स्पष्ट पार्छ ।
सन् २०२४ मा मात्रै जलवायुका कारण आउने विपतबाट अमेरिकाले १८३ अर्ब डलर बराबरको नोक्सानी बेहोरेको छ । यस्तो अवस्थामा तेल र ग्यास उद्योगद्वारा हुने लुट अमेरिकाका लागि तीतो सत्य बन्नेछ ।
चीनको एकदलीय अधिनायकवादी शासन अमेरिकी रिपब्लिकन पार्टीमा देखिएको तेलकेन्द्रित कट्टरताबाट धेरै हदसम्म मुक्त छ । चीनमा मार्जरी टेलर ग्रीन जस्ता नेता छैनन् । उनले विद्युतीय गाडीको समर्थन गर्ने डेमोक्य्राटहरूले अमेरिकाको गाडी चलाउने तरिकालाई नै नपुंसक बनाइरहेको हास्यास्पद दाबी गरेकी थिइन् । चीनका नेताहरू हरित ऊर्जालाई वातावरणको भन्दा पनि पैसा कमाउने साधनका रूपमा देखिरहेका छन् ।
आजकल नवीकरणीय ऊर्जा परियोजनाहरू निर्माण र सञ्चालन गर्नु कोइला वा ग्यास पावर प्लान्टको तुलनामा सस्तो पर्न थालेको छ । सन् २०२५ को जुन महिनामा लाजार्ड नामक सम्पत्ति व्यवस्थापन कम्पनीले जारी गरेको प्रतिवेदन अनुसार, ठूला नयाँ सौर्य परियोजनाबाट उत्पादित बिजुलीको लागत प्रति मेगावाट घण्टा ७८ डलरसम्म पर्न सक्छ र कहिलेकाहीँ यसभन्दा धेरै सस्तो पनि पर्न सक्छ । तुलनात्मक रूपमा, नयाँ ग्यास प्लान्टबाट उत्पादित बिजुली १०७ डलर प्रति मेगावाट घण्टासम्म पर्न सक्छ ।
विश्वभरका विद्युत् उपलब्ध गराउने कम्पनीहरू सस्तो र प्रदूषण कम गर्ने स्वच्छ ऊर्जातर्फ आकर्षित भइरहेका छन् । चीनले दशकौंअघि नै यो सम्भावना देखेको थियो र सुरुमै उसले गरेको लगानी अहिले फलिफाप भएको छ । अहिले चीन विश्वका आधाभन्दा बढी विद्युतीय गाडी र सौर्य प्यानलहरूको विशाल संख्यामा उत्पादन गर्छ ।
संयुक्त राज्य अमेरिका अझै पनि ऊर्जा प्रविधिको अग्रपंक्तिमा रहेर प्रतिस्पर्धा गर्न सक्छ । अमेरिकी कम्पनीहरूले जियोथर्मल, ब्याट्री रिसाइकलिङ र अन्य नयाँ ऊर्जा प्रविधिहरूमा नवप्रवर्तन गर्दै आएका छन् ।
तर, २१औं शताब्दीमा स्वच्छ ऊर्जा निर्माणको लडाइँमा अमेरिका आफैं खेल मैदानबाट बाहिरिएजस्तो देखिन्छ ।
जीवाष्म इन्धन उद्योग आर्थिक, पर्यावरणीय र नैतिक हिसाबले पूर्णतः प्रतिगामी भएको अब प्रस्ट हुँदै गइरहेको छ ।








प्रतिक्रिया