
जापान । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जलवायु परिवर्तन र उड्डयनका विषयमा क्षेत्रीय सहयोगका लागि तत्काल पहल गर्न आवश्यक भैसकेकोमा बताएका छन् ।
जापानमा आयोजित अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ)को एसिया प्यासिफिक क्षेत्रको ६० औं महानिर्देशकस्तरीय सम्मेलनमा उड्ययन र वातावरण शीर्षकको सत्र सञ्चालन गर्ने क्रममा उनले उड्डयन क्षेत्रको विकासमा क्षेत्रीय सहयोग आवश्यक भएको बताएका हुन् ।
हिमाल पग्लनु देखि उड्डयन क्षेत्रमा उत्पन्न अवरोधसम्मका असरहरू नेपालमा स्पष्ट देखिन थालिसकेको उल्लेख गर्दै अधिकारीले एसिया–प्रशान्त क्षेत्रका देशहरूलाई संयुक्त रूपमा पहल थाल्न आग्रह गरे ।
नेपालजस्ता देशहरू जसको विश्वव्यापी कार्बन उत्सर्जनमा “लगभग शून्य“ योगदान छ, उनीहरुले समेत अहिले नै जलवायु संकटको मूल्य चुकाउन शुरु गरिसकेको उनको भनाइ थियो ।
उड्डयन र वातावरण अन्तरसम्बन्धित रहेको जनाउँदै अधिकारीले जलवायु परिवर्तन अहिलेको जल्दोवल्दो विषयवस्तु भएको र उड्डयन क्षेत्रमा पनि यसको प्रभाव रहेको हुँदा तत्काल वस्तुपरक, समन्यायिक र समावेसी समाधान खोज्नुपर्नेमा जोड दिए ।
सत्रको उद्घाटन मन्तव्यमा उनले भने, “उड्डयन आर्थिक इञ्जिन त हो, तर यसले जलवायु परिवर्तनमा योगदान पनि दिन्छ । नेपालको कार्बन उत्सर्जन, उड्डयनसहित, नगन्य छ । तर हामी तीमध्ये एक सर्वाधिक प्रभावित देश हौं, जहाँ हिमाल पग्लिरहेका छन्, हिमताल विस्फोट भइरहेका छन्, बाढी आउँछन्, र मौसम झनझन अनिश्चित बन्दै गइरहेको छ, जसले हाम्रो उड्डयनमा ठूला चुनौतीहरू ल्याइरहेको छ।”
संसारका दशमध्ये आठ अग्ला हिमालहरू, सगरमाथासहित, नेपालमै छन् । अहिले यी हिमालहरूमा हिउँको ठाउँमा धमाधम खुला चट्टान देखिन थालेको छ । “जलवायु संकटले सीमा चिन्दैन, न त यो जिम्मेवारीलाई केवल उत्सर्जनका आधारमा मात्र मापन गर्छ,“ उनले थपे ।
सो सत्रका वक्ताहरुले पनि अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको पाँच वर्षे रणनीतिक योजना, शुन्य कार्वन उत्सर्जन, दिगो हवाई इन्धन, न्यून कार्वनयुक्त हवाइ इन्धन तथा अन्य वैकल्पिक सफा उर्जाका स्रोतका विषयहरुमा आप्mनो धारणा राखेका थिए ।
भारत, इन्डोनेसिया लगायतका सहभागिहरूले क्षेत्रीय क्षमतावृद्धिमा जोड दिएका थिए । भारतले इन्धन र पूर्वाधार बाहेक पनि वातावरणमैत्री नीति, जस्तै एकपटक प्रयोग हुने प्लास्टिकमाथिको प्रतिबन्ध, अपनाउनु पर्ने धारणा राख्यो ।
नेपालले सबै विमानस्थलमा नवीकरणीय जलविद्युत प्रयोग गर्दै आएको बताउँदै तिनीहरूलाई “हरित विमानस्थल” का रूपमा प्रस्तुत गर्यो l अन्य देशहरूलाई पनि समान न्यायोचित रूपान्तरण र नवप्रवर्तनलाई प्राथमिकता दिन आग्रह गर्यो ।
अधिकारीले भने, “हाम्रो उड्डयन गतिविधि सानो होला, तर हामीले भोगेका असरहरू साना छैनन् । समानता, नवप्रवर्तन, र साझा प्रतिबद्धता नै अगाडि बढ्ने मार्ग हुन् ।”
उड्डयन क्षेत्रको उच्चतम विकास तथा दिगोपनाका लागि निरन्तरको साझेदारी तथा हातेमालोको अपेक्षा राख्दै अधिकारीले उड्ययन र वातावरण शीर्षकको सत्रको समापन गरे ।








प्रतिक्रिया