
काठमाडौं । विगतमा गुण्डा नाइकेका रूपमा चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई प्रहरीले महाराजगञ्ज क्षेत्रबाट गएराति पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बाँसबारीस्थित होटल साम्बालाबाट जन्मदिन पार्टी मनाइरहेका मिलनसहित करिब ५० जना आपराधिक पृष्ठभूमिका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।
चक्रे मिलन पछिल्ला दिनमा पशुपति क्षेत्रमा पैसा बाँड्दै र ठमेलका र्यापरहरूसँग देखिएको बताइएको छ । प्रहरी स्रोतका अनुसार, उनको जन्मदिनमा २० वटासम्म केक काटिएको थियो । समर्थकहरूले स्कर्टिङसहित उनलाई महाराजगञ्जसम्म पुर्याएका थिए ।
यसअघि पनि सार्वजनिक शान्ति भंग गर्ने गतिविधिमा संलग्न भएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि उनीहरू छुट्दै आएका छन् ।
जनआन्दोलनपछि चक्रे मिलन, दिपक मनाङे, राजु गोर्खाली, गणेश लामा, दावा लामा जस्ता व्यक्तिहरू उपत्यकाको विभिन्न भागमा सक्रिय थिए । केहीले राजनीतिमा प्रवेश गरी ‘शुद्धीकरण’ प्रयास गरेका छन् । मनाङे अहिले डिल्लीबजार कारागारमा सजाय काटिरहेका छन् ।
गुण्डागर्दीमा राजनीतिक संरक्षणको भूमिका र प्रहरीको नीतिका कारण विगतमा धेरै यस्ता व्यक्ति परिवर्तन भएको देखिएको छ । तर, समय-समयमा उनीहरू फेरि सार्वजनिक रूपमा सक्रिय हुने क्रम नरोकिएको प्रहरी बताउँछ ।








प्रतिक्रिया