कर्णाली विकास बैंक घोटाला: मृत्यु भइसकेका दुई जनाविरुद्ध पनि मुद्दा

196
Shares

काठमाडौं । कर्णाली विकास बैंकको अनियमितता प्रकरणमा १०९ जनाविरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा मुद्दा दायर भएको छ ।

उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका सूचना अधिकारी बलबहादुर विष्टले तीन अर्ब २० करोड ११ लाख ५४ हजार १ सय ५७ रुपैयाँ बिगो माग गर्दै १०९ जनाविरुद्ध मुद्दा दायर भएको क्लिकमान्डुलाई जानकारी दिए ।

मुद्दा दायर भएका १०९ जनामध्य ४ जना पक्राउ परेका छन् भने १०३ जना फरार रहेको आरोप पत्रमा उल्लेख गरिएको छ ।

मुद्दा दायर गरिएका मध्ये २ जना भने मृत्यु भइसकेका व्यक्ति रहेका छन् ।

भीमबहादुर थापाका नाती फत्तेबहादुर थापाका छोरा सल्यान जिल्ला खलंगा गाविस ६ स्थायी घर भइ हाल बाँके जिल्लाको नेपालगञ्ज उपमहागरपालिका १३ बस्ने राप्ती पोलिमर्स प्रालिका सञ्चालक वरष ५५ का महेश जंग थापाको २०७८ साल वैशाख ३१ गते मृत्यु भएको छ तर जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध मुद्दा दायर गरेको छ ।

त्यस्तै रामप्रसाद कश्यपको छोरा नेपालगञ्ज उपमहानगरपालिका ७ का कर्णाली डेभलपमेन्ट बैंकका तत्लकानीन कर्मचारी धनञ्जय कश्यपविरुद्ध मुद्दा दायर भएको छ । उनको २०८२ वैशाख ५ गते नै मृत्यु भइसकेको आरोप पत्रमा उल्लेख गरिएको छ।

बुधबार दायर मुद्दामा बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रवीर रायलाई २ अर्ब ६३ करोड ३२ लाख १६ हजार ५९७ रुपैयाँ बिगो र जरिवाना माग दाबी गरिएको छ।

त्यस्तै एमाले केन्द्रीय सदस्यसमेत रहेका पशुपति दयाल मिश्रलाई ८२ करोड ४६ लाख २९ हजार, राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई १० करोड ८९ लाख २५ हजार र बैंकका तत्कालीन वित्त विमाग प्रमुख रहेका महादेव भनिने वेद प्रकाश सिंह ठकुरीलाई २४ करोड ६३ लाख ९९ हजार बिगो र जरिबाना माग दाबी गरिएको छ ।