
काठमाडौं। वर्षोदेखि बन्द विमानस्थलमा सेयर लगानीका नाममा सरकारले चालु आर्थिक वर्षमा करोडौं लगानी खन्याएपछि त्यसलाई कार्यान्वयन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले थप खर्च गर्ने भएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले सेयर लगानीका रुपमा दिएको बजेटमा थप लगानी गरेको छ ।
प्राधिकरणले सञ्चालनयोग्य र प्रतिफल दिने विमानस्थलमा थप लगानी बढाउनुलाई सामान्य मानिए पनि कतिपय विमानस्थलमा भने सरकारकै आदेश पालना बाहेक केही उपलब्धी नदेखिने खालको छ । जसका कारण प्राधिकरणको लगानी सुनिश्चित तर प्रतिफल अनिश्चित देखिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा वर्षौंदेखि बन्द विमानस्थलमा थप लगानी गरेर सञ्चालनयोग्य बनाउने घोषणा गरेको छ । सरकारले पर्यटन मन्त्रालयमार्फत सेयर लगानीका रुपमा बन्द विमानस्थलमा लगानी खन्याएको छ । उक्त बजेट कार्यान्वयन गर्ने निकाय प्राधिकरणले सरकारले दिएको बजेटमा थप लगानी गरेको छ ।
प्राधिकरणले थप लगानी गरेर विमानस्थल सञ्चालनयोग्य बनाउन र लगानीको प्रतिफल आउने गरी काम गर्न खोजिएको उल्लेख गरेको छ । तर, वर्षौंदेखि बन्द विमानस्थलमा सरकारले सेयर लगानीका नाममा बजेट खर्च गर्ने र प्राधिकरणले थप रकम खन्याउनुले लगानी सुनिश्चत तर प्रतिफल भने अनिश्चित हुने देखिएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत महेन्द्रनगर विमानस्थलको टावरसहितको भवन बनाउन १ करोड रुपैयाँ बजेट दिएको छ । यसलाई प्राधिकरणले थप ४ करोड बजेट विनियोजन गरेको छ ।
यही विमानस्थलमा सुदृढीकरण गर्न सरकारले बजेटमार्फत २ करोड विनियोजन गरेको जसमा प्राधिकरणले थप १० करोड लगानी गर्ने भएको छ । प्राधिकरणका अनुसार सरकारले सेयर लगानीका रुपमा गरेको खर्चलाई प्रभावकारी बनाउन प्राधिकरणले थप लगानी गरेको हो ।
सरकारले प्राधिकरणलाई सञ्चालन भएका र नभएका विमानस्थलमा ५० लाखदेखि ७ करोड रुपैयाँसम्म बजेट दिएको छ । यस्तो रकमलाई प्राधिकरणले १ करोडदेखि ७० करोडसम्म थप लगानी गरेको छ ।
प्राधिकरणले चालु आर्थिक वर्षको बजेटमा सरकारले लगानी गरेका विमानस्थलमा सबैभन्दा धेरै विराटनगरको लागि ७० करोड रुपैयाँ विनियोजन गरेको छ । यो विमानस्थलमा सरकारले नयाँ टर्मिनल भवन बनाउने भएको छ । यसका लागि पर्यटन मन्त्रालयमार्फत ४ करोड रकम विनियोजन भएको छ । त्यसलाई प्रभावकारी कार्यान्वयन गर्न प्राधिकरणले ७० करोड रुपैयाँ थप गरेको छ ।
सञ्चालन नभएका विमानस्थलमध्ये कञ्चनपुरको महेन्द्रनगर, उदयपुरको सगरमाथा, कैलालीको टिकापुर, तेह्रथुमको चुहानडाँडा, अछामको कमलबजार, दार्चुलाको गोकुलेश्वर, डडेलधुराको अजयमेरु पुइलेक, दाङको टरिगाउँसहतिका विमानस्थल छन् ।









प्रतिक्रिया