
एजेन्सी । पोर्चुगलका सुपरस्टार फूटबलर क्रिस्चियानो रोनाल्डो अर्बपति फूटबलर बनेका छन् ।
साउदी अरबको अल नासर क्लबसँग नयाँ सम्झौता गरेपछि रोनाल्डोको सम्पत्ति बढेको हो । अल नासरसँग उनले तलब र बोनस मात्र नभई निकै ठूलो सम्झौता गरेका छन् ।
हुन त रोनाल्डोले सन् २०२० मै करीयरभरिको गरी १ अर्ब डलर (१ खर्ब ३९ अर्ब नेपाली रुपैयाँ) कमाइसकेका थिए । तर, अहिले आएर उनको नेटवर्थ(सम्पत्ति) १ अर्ब डलर बनेको सेलिब्रिटीनेटवर्थ डट्कमले जनाएको छ ।
उनी संसारमै सबभन्दा बढी पैसा लिने फूटबल खेलाडीमा पर्छन् । त्यसका साथै उनले नाइक कम्पनीसँग आजीवन सम्झौता गरेर विशाल रकम कमाएका छन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा सबभन्दा धेरै फलोअर रोनाल्डोकै छन् ।
अल नासरमा रोनाल्डोले दुई वर्षका लागि ७० करोड डलर बराबरको सम्झौता गरेका छन् । त्यो खेलकै इतिहासमा सबभन्दा महँगो वार्षिक सम्झौता हो ।
त्यस सम्झौतामा ४ करोड ८० लाख डलरको साइनिङ बोनस समेत समावेश गरिएको छ । त्यसका साथै रोनाल्डोले अल नासर क्लबमा १५ प्रतिशत स्वामित्व पनि पाएका छन् ।
रोनाल्डोलाई क्लबको स्वामित्व दिएर अल नासरले साउदी फूटबल परियोजनाको ब्रान्ड एम्बेसडर बनाउन खोजेको छ । सन् २०३४ मा फिफा विश्वकप आयोजना गर्न लागेको साउदीका लागि रोनाल्डोको उपस्थिति निकै महत्त्वपूर्ण छ ।
रोनाल्डोले आफ्ना प्रतिस्पर्धी लियोनल मेस्सीलाई सम्पत्तिको मामिलामा पछि पारेका छन् । मेसीले मेजर लीग सकरमा इन्टर मायामी क्लबका लागि नयाँ सम्झौता गर्न बाँकी छ । अहिले उनको नेटवर्थ ८५ करोड डलर छ ।
तर, यसका बावजूद रोनाल्डो फाइक बोलकियाह नामक फूटबलर जति धनी छैनन् । ब्रुनाईका सुल्तानका भतिजा बोलकियाहलाई पनि व्यावसासयिक फूटबलर नै मानिन्छ । बोलकियाह ब्रुनाई राष्ट्रिय टोलीका कप्तान हुन् र उनको नेटवर्थ २० अर्ब डलर रहेको छ । उनी थाइल्यान्डको पहिलो डिभिजिनमा रहेको रातचाबुरी क्लबमा पनि आबद्ध छन् ।
तर, उनी आफ्नो धनाढ्य परिवारको बलमा धनी भएका हुन् । रोनाल्डोले जस्तो मेहनत गरेर उनले पैसा कमाएका हैनन् ।







प्रतिक्रिया