सुँगुर काटेर भोज गरेकै रातदेखि एकै परिवारका १६ जना बेपत्ता, अहिलेसम्म के भयो ?

4.3k
Shares

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, भण्डास विप्पर कटेरीस्थित एकै परिवारका १६ जना सदस्य चार दिनदेखि सम्पर्कविहीन भएपछि घटनाले रहस्यमय बनेको छ ।

अल्पसंख्यक हायू समुदायका उर्मिला हायूको परिवार बिहीबारदेखि सम्पर्कविहीन बनेको स्थानीय र प्रहरीले जनाएको छ ।

बेपत्तामा छोरा छोरीसहित ज्वाइँसम्म

बेपत्तामध्ये उर्मिला हायू, उनका ६ छोराहरू राजु, हिमाल, लालबहादुर, डेगबहादुर, सुवर्ण, लक्ष्मण तथा ६ छोरीहरू कमला, सुधा, सुजता, उषा, अस्मिता र कोमलासहित एक बुहारी, एक नातिनी र एक ज्वाइँ रहेको र अहिले उनीहरू कुन अवस्थामा छन् भन्ने बारे केही पत्ता नलागेको प्रहरीले जनाएको छ ।

स्थानीयवासीका अनुसार, बिहीबार सुँगुर काटेर भोज गरेको देखिएको थियो। त्यसयता परिवारका कुनै पनि सदस्य देखिएको छैन । सोमबार प्रहरी र वडा कार्यालयको टोली पुग्दा घर सुनसान थियो ।

घर वरपर खोरमा बाँधिएका पशुचौपाया बाख्रा र गाईभैंसी भोकले छटपटाएको अवस्थामा फेला परेका थिए । घरको भान्सामा आंशिक आगलागी भएको देखिए पनि अन्य भागमा क्षति थिएन । भाँडाकुँडा अस्तव्यस्त अवस्थामा भेटिएका थिए। अँगेनामा झण्डै २ धार्नी सुँगुरको मासु भेटिएको प्रहरीले जनाएको छ।

८ लाख रुपैयाँभन्दा बढी भत्ता बुझेको दाबी

वडाध्यक्ष रविन श्रेष्ठका अनुसार हायू परिवारले ४ दिनअघि वडा कार्यालयमार्फत सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता एकैपटक बैंकबाट झिकेको थियो। १६ जना घरमै भएका र २ जना बाहिर रहेका व्यक्तिको नाममा गरी कुल १८ जनाको तीन महिनाको भत्ता झण्डै ८ लाख रुपैयाँ उनीहरुले लिएको पाइएको छ ।

‘भत्ता लिएर कहाँ गएका हुन् ? ऋण तिर्न हिँडेका हुन् कि कतै फरार भएका हुन्? विपत्ति आयो कि? अझै केहि भन्न सकिएको छैन,’ श्रेष्ठले भने ।

छिमेकीहरूले तीन दिनदेखि कसैलाई नदेखेको बताएका छन् । गाई बस्तुलाई भने छिमेकीले घाँस दिने गरेका थिए ।

तीन वर्षअघि श्रीमान गायब

बेपत्ता भएकी उर्मिला हायूका श्रीमान् सने हायू पनि तीन वर्षअघि घरबाटै बेपत्ता भएका थिए । खोजतलासका क्रममा केही महिनामा नजिकैको जंगलमा उनको हाडखोर मात्र फेला परेको थियो ।

स्थानीयका अनुसार उक्त घटना पनि रहस्यमय थियो । अहिले फेरि उस्तै गरि परिवारनै हराएको भन्दै स्थानीय अचम्मित भएका छन् ।

सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार खोजी कार्य भइरहेको छ । ‘बेपत्तामध्ये कसैकसैको मोबाइल लोकेसन रामेछापको मन्थली आसपास देखिएको छ,’ उनले भने, ‘तर त्यहाँ स्थलगत रूपमा कोही भेटिएका छैनन्।’

उनीहरूले गाउँ छाडेर प्लानका साथ हिँडेका हुन् कि कुनै दुर्घटना वा हिंसात्मक घटना भएको हो भन्ने पुष्टी भएको छैन भने अहिलेसम्म कुनै ‘क्लु’ प्रहरीले फेला पार्न सकेको छैन ।

सरकारको सूचीअनुसार यो समुदाय लोपोन्मुख आदिवासी जनजातिमा पर्छ । २०७८ को जनगणना अनुसार देशभर हायू समुदायको संख्या ३ हजार ६९ मात्रै छ।