
काठमाडौं । मोरङ जिल्लाको ब्रम्हापुरामा क्यासिनको सुविधासहित पाँचतारे होटल बन्ने भएको छ । एक्सिस हस्पिटालिटी प्रालिले मोरङमा द एक्सिस होटल बनाउने भएको हो ।
कम्पनीको होटलको निर्माण कार्य अगाडि बढाउनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरी वन तथा वातावरण मन्त्रालयलाई पेश गरिसकेको छ ।
प्रतिवेदअनुसार कम्पनीले ४ बिघा १३ कठ्ठा १९.९९ धुर जग्गा क्षेत्रफलमा होटल बनाउने छ । कम्पनीले ७ हजार ४४७.०७ वर्गमिटर क्षेत्रफलमा होटलको भवनहरु बनाउने भएको छ ।
२७ हजार ४८२.५७ वर्गमिटर क्षेत्रफलको भवनहरुको तल्ला हुने उल्लेख गरेको छ । होटलमा भवनको संख्या चार वटा हुनेछ । त्यस्तै होटलमा ३ सय ५० शय्याको २ सय १५ वटा कोठाको सुविधा हुनेछ । मुख्य भवनको भूमिगत तल्ला १२ सय ६४.२८ वर्गमिटर र भूर्इं तल्ला २ हजार १.९१ वर्गमिटरको हुनेछ । भूईं तल्लामा रेष्टुरेन्ट, लबी, बार, भान्सा, कोठा र कार्यालय कोठाको सुविधा हुनेछ ।

होटलको मेजनाईज तल्लामा भान्सा कोठा, पहिलो तल्लामा मिटिङ हल, लबी, जिम, सैलुन, स्पा र दोस्रो तल्लामा सर्भिस तल्लाको सुविधा हुनेछ । त्यसैगरी तेस्रो तल्ला र चौथो तल्लामा ४०/४० वटा पाहुना कोठा र पाँचौ तल्लामा ३५ वटा पाहुना कोठाको सुविधा हुनेछ ।
ब्याङ्क्वेट भवनको भुई तल्ला २६ सय ७८.२६ वर्गामिटर क्षेत्रफलमा फैलिनेछ । ब्लक बीको भवनको भुई तल्लामा रेष्टुरेन्ट, लबी, बार, भान्सा कोठा, कार्यालय कोठा, र पहिलो तल्लामा सर्भिस तल्लाको सुविधा हुनेछ । दोस्रो, तेस्रो र चौथो तल्लामा ३४/३४ वटा पाहुना कोठाको सुविधा हुनेछ ।
त्यसैगरी, कम्पनीले छुट्टै क्यासिनो हल बनाउनेछ । उक्त क्यासिनोको भुई तल्ला ११ सय ८८.२४ वर्गमिटर र पहिलो तल्ला १६ सय १७ वर्गामिटर क्षेत्रफलमा हल फैलिनेछ । होटल निर्माणको चरणमा दैनिक ७० जना र सञ्चालन चरणमा २ सय कामदारको आवश्यकता पर्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।
होटलमा एक सय चार पाङ्ग्रे र १ सय ५० दुई पाङ्ग्रे अट्ने क्षमताको पार्किङको व्यवस्था हुनेछ । यो होटलको लागत डेढ अर्ब रुपैयाँ र बन्न लाग्ने अवधि ३ वर्ष अनुमान गरिएको छ ।







प्रतिक्रिया