कमलादीको स्काई वाक टावरमा बन्जी जम्पदेखि जीपलाइनसम्म बन्ने, लगानी कति ?

546
Shares

काठमाडौं । कमलादीको स्काई वाक टावरमा आगामी दिनमा साहसिक खेलको पनि मज्जा लिन पाइने भएको छ । वबोन्डर्स नेपाल प्रालिले निर्माण गरेको स्काई वाक टावरमा पर्यटकहरुलाई थप मनोरञ्जन दिने उद्देश्यसहित लगानी थप गरी साहसिक खेलको निर्माण गरिने भएको छ ।

कम्पनीले उक्त साहसिक खेल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी वन तथा वातावारण मन्त्रालयलाई पेश गरेको छ ।

कम्पनीले ७ करोड रुपैयाँ लगानी थप गरी साहसिक खेलको निर्माण गर्ने भएको हो ।

कम्पनीले साहसिक खेलमार्फत् विभिन्न १० वटा खेलको पूर्वाधार निर्माण गर्ने प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार बन्जी जम्प, रिभर्स जम्प, स्वीङ, एज वाक, फ्रिफ जम्प, स्काई क्लाइम्बिङ, स्काई साइकलिङ, जीपलाइन, स्काई चेयर र स्कार्य बार खेलको लागि पूर्वाधार निर्माण गर्ने भएको छ ।

७५ मिटर अग्लो स्काई वाक टावरमा बन्जी जम्प ६० मिटर लम्बाईको हुनेछ । त्यस्तै, स्वीङ/३६० १० मिटर लम्बाईको हुनेछ । प्रतिवेदनअनुसार फ्रिफल जम्प ६० मिटर, जिप लाईन २ सय मिटर, रिभर्स बन्जि ४० मिटर, जीप सर्फिङ २ सय मिटर, होममक १ सय ५० मिटर लम्बाईको हुनेछ । त्यसैगरी मेगा ट्रोल, सेल्फि पोइन्ट, स्नो पोइन्ट र हाई रोप कोर्सको सुविधा हुनेछ ।

कम्पनीले १३ रोपनी ४ दाम क्षेत्रफल भाडामा लिई साहसिक खेलको सुविधा दिनेछ । प्रतिवेदनमा सो क्षेत्रमा २ सय ५० वटा दुई पाङ्ग्रे र १ सय २० वटा चार पाङ्ग्रे सवारी साधन अट्ने उल्लेख गरेको छ । साहसिक खेलका लागि पूर्वाधार तयार गर्दा दैनिक ४ सय ५० जनादेखि ५ सय जना पर्यटकको आगमन हुने अनुमान गरेको छ । हाल २ सय जनादेखि २ सय ५० जनासम्म पर्यटकको आगमन भइरहेको छ ।

कम्पनीले यसअघि ८२ करोड रुपैयाँ लगानीमा स्काई टावर निर्माण गरेको थियो । त्यसमा ७ करोड रुपैयाँ लगानी थप गरी ८९ करोड रुपैयाँ लगानीमा आयोजना निर्माण हुने कम्पनीको भनाइ छ ।