पौने ११ अर्ब लगानीमा ३ वर्षभित्र पाटन अस्पतालमा बन्दैछ १० तले नयाँ भवन

१२०० शय्यामा स्तरोन्नति हुने

637
Shares

काठमाडौं । ललितपुर महानगरपालिका–५ स्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नति गरिने भएको छ ।

अहिले ६०० शय्यामा सञ्चालनमा रहेको यो अस्पताललाई विस्तारित गर्दै अत्याधुनिक सेवा र संरचना सहितको विशेषज्ञ अस्पतालमा रूपान्तरण गरिने भएको हो ।

प्रस्तावित अस्पतालमा दुई तला बेसमेन्ट, भुँइतलासहित ७ तला गरि कुल १० तला हुने छ ।

भवनको कुल संरचना ७२,९२०.६९ वर्ग मिटरको हुनेछ भने उचाइ ३५ मिटर हुनेछ । कुल २६,०५४.८४ वर्ग मिटर क्षेत्रफलमा फैलिने यो अस्पतालले उपत्यका मात्रै नभई देशभरका बिरामीलाई सेवा दिने गरी डिजाइन गरिएको छ।

विद्यमान अवस्थामा रहेकोसमेत गरि अस्पतालमा ११ हजार ८८९ वर्गमिटर पार्किङ क्षेत्र हुनेछ । जसमा ५०० मोटरसाइकल र ३ सय कार पार्क गर्न मिल्ने छ ।

विस्तारित अस्पताल निर्माणका लागि १० अर्ब ७३ करोड २३ लाख ५४ हजार ६७९ रुपैयाँ लागत लाग्ने छ । आयोजना ३६ महिना अर्थात ३ वर्षमा सकिने छ ।

अस्पताल स्तरोन्नतिपछि स्त्रीरोग, प्रसूति, बालरोग, मानसिक रोग, दन्त, नाक-कान-घाँटी, छाला तथा यौन रोग, क्यान्सर सेवा, रेडियोलोजी, प्यासोलोजी, माइक्रोबायोलोजी, फिजियोथेरापी, क्लिनिकल फर्माकोलोजी, आकस्मिक सेवा, वृद्ध सेवा, सरुवा र नसर्ने रोग सेवा, पोषण, परामर्श तथा पुनःस्थापना, नवजात शिशु सेवा, गम्भीर बिरामीका लागि आईसीयू, एनआईसीयू, सीसीयू, ओटी, एमआरआई, डायलाइसिसमा विशेषज्ञ सेवाहरू उपलब्ध हुनेछन् ।

त्यस्तै, एमबीबीएस, बीडीएस, एमडी, बीएससी नर्सिङ लगायतका शैक्षिक कार्यक्रम पनि थप सुदृढ बनाइने भएको छ ।

अस्पतालको विस्तारसँगै सयौं व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको अवसर सृजना हुने प्रतिवेदनमा उल्लेख छ । निर्माण चरणमै इन्जिनियर, श्रमिक, सुपरभाइजरलगायतको माग हुनेछ भने सञ्चालनपश्चात चिकित्सक, नर्स, प्राविधिक, प्रशासनिक कर्मचारी, सरसफाइ तथा सुरक्षाकर्मीको ठूलो संख्या आवश्यक पर्छ ।

भवनको डिजाइन अपांगमैत्री बनाइनेछ। ह्वीलचेयर प्रयोगकर्ताका लागि उपयुक्त प्रवेशद्वार, लिफ्ट, विशेष शौचालय, संकेत चिह्न, बाल मैत्री उपचार कक्ष जस्ता सुविधा रहनेछ ।