मंगलबार बाँडफाँट हुँदै हिमालयन बैंकको एफपीओ, ९ लाख २५ हजारलाई पर्ने

0
Shares

काठमाडौं । हिमालयन बैंकको एफपीओ साउन १३ गते मंगलबार बाँडफाँट गरिने भएको छ । असार मसान्तमा खुलेको एफपीओमा ४.४३ गुणा बढी आवेदन परेको थियो ।

बैंकले असार ३२ गते प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ताका एफपीओका लागि आवेदन माग गरेको थियो । जसमा १७ लाख ४ हजार २७३ जनाले ४ करोड ९ लाख ६६ हजार ५०० कित्ताका लागि आवेदन दिएका थिए ।

मंगलबार बाँडफाँड हुन लागेको एफपीओ १०–१० कित्ताको दरले ९ लाख २५ हजार ४६ जनालाई पर्नेछ ।

बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले एफपीओ जारी गरेको थियो ।

हाल बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ । जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ ।

सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको सार्वजनिक निष्कासन गरेको थियो । अब बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा पुग्नेछ ।