नेताको भोट बढाउन विमानस्थल नबनाऔं: योगेश भट्टराई

0
Shares

काठमाडौं । नेकपा एमालेका सचिव तथा संघीय सांसद योगेश भट्टराईले राजनीतिक स्वार्थका लागि अब विमानस्थल निर्माण गर्नु नहुने स्पष्ट पारेका छन् ।

बिहीबार बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले भने, ‘राजनीतिक दबाबमा, नेताको भोट बढाउन अब विमानस्थल बनाउनु हुँदैन । यसले राष्ट्रलाई ठूलो क्षति पुर्‍याउँछ ।’

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ सम्बन्धी छलफलका क्रममा सांसद भट्टराईले हाल नेपालमा ५५ वटा विमानस्थल रहे पनि मात्र ३२ वटा सञ्चालनमा रहेको तथ्य प्रस्तुत गरे ।

उनले भने, ‘हामीसँग ५५ वटा विमानस्थल छन् तर तीमध्ये ३२ वटा मात्रै सञ्चालनमा छन्, त्यो पनि सबै नियमित रूपमा छैनन् ।’

वर्तमान नीति तथा कार्यक्रममा अझै नयाँ विमानस्थल थप्ने प्रस्ताव आएकोप्रति आपत्ति जनाउँदै उनले भने, ‘यो अब फेसनजस्तै भएको छ । राजनीतिक दबाबमा एयरपोर्ट थपिँदैछ । मलाई त्यो राम्रो र उचित लाग्दैन ।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई मात्र प्राथमिकतामा राखिनुपर्नेमा उनले जोड दिए । ‘निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट हाम्रो प्राथमिकतामा हुनुपर्छ,’ उनले भने, ‘त्यसबाहेक अरू एयरपोर्ट बनाउनुपर्छ जस्तो लाग्दैन । भएका एयरपोर्टहरूको क्षमता विस्तार गर्नुपर्छ ।’

उनले नेपालमा हवाई सेवा सुरु भएको सन् १९४९ यता भएको दुर्घटनाको तथ्यांक पनि प्रस्तुत गरे । ‘१९४९ मा पहिलोपटक हवाई सेवा सुरु गरेका थियौं । त्यसयता १०८ वटा दुर्घटना भएका छन्, जसबाट ९५९ जनाको ज्यान गएको छ,’ उनले भने, ‘त्यति छोटो अवधिमा यति धेरै दुर्घटना हुनु गम्भीर कुरा हो ।’

भविष्यमा यस्ता दुर्घटना नहोस् भन्ने उद्देश्यले कानुन निर्माण हुनुपर्नेमा उनले जोड दिए । ‘हामी किन ऐन बनाउँदैछौं? अबको ऐनले ती दुर्घटना कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने स्पष्ट देखाउनुपर्छ,’ उनले भने, ‘मानवीय त्रुटि, जहाजको प्राविधिक समस्या, व्यवस्थापनको कमजोरी – यी सबैका कारण दुर्घटना भएका छन् ।’

नेपालको भौगोलिक बनावट, जनसंख्या र यातायातको पहुँचको आधारमा मात्रै विमानस्थलको आवश्यकता निर्धारण गर्नुपर्ने सुझाव पनि उनले दिए । ‘अब नेपालमा कति एयरपोर्ट आवश्यक हो भन्नेमा ठोस छलफल हुनुपर्छ,’ उनले भने ।

Skip This