
भक्तपुर । मध्यपुर थिमी नगरपालिका–९ सिन्टीटारस्थित एक डेरामा बस्दै आएका दुई दिदीबहिनी आज बिहान मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार मृत फेला पर्नेमा सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भएका १७ वर्षीया मेनुका र १५ वर्षीया सिर्जना कँडेल छन् । उनीहरू स्थानीय चक्रधर प्रजापतिको दुई तले घरको भुइँतलामा डेरा गरी बस्दै आएका थिए । आज बिहान पौने ७ बजे उनीहरू सोही घरको प्यासेजमा एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
दुवै जना दिदीबहिनी भएको पुष्टि गर्दै प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज ढुङ्गानाले दुई साताअघि मात्र उनीहरू डेरामा बस्न आएको खुल्न आएको बताए । प्रारम्भिक अनुसन्धानमा उनीहरू घरबाट भागेर आएको खुलेको समेत उनले जानकारी दिए ।
हालसम्म मृतकका आफन्त सम्पर्कमा नआएको र उनीहरू सम्पर्कमा आएपछि मात्रै घटनास्थलको विधिवत् मुचुल्का गरिने ढुङ्गानाले बताए ।








प्रतिक्रिया