मंगलबारदेखि अण्डाको मूल्य बढाउने निर्णय, अब कति पर्छ ?

1.2k
Shares

काठमाडौं । अण्डाको मूल्य बढ्ने भएको छ । नेपाल लेयर्स कुखुरापालक संघले मंगलबारदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय गरेको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।

नेपाल लेयर्स कुखुरापालक संघको साउन ४ र ५ गते भएको भौतिक र भर्चुअल बैठकमा अण्डा उत्पादकहरुको राय सुझाव र सिफारिस अनुसार अण्डाको समर्थन मूल्य तय गरिएको उनको भनाइ छ ।

अत्यधिक गर्मीका कारण अण्डाको उत्पादनमा गिरावट आएपछि मूल्य समायोजन गर्नुपरेको उनको भनाइ छ ।

संघले बजारमा उपलब्ध अण्डाका तीन आकार-मध्यम, ठूलो र एक्स–एल—का मूल्यमा प्रतिक्रेट १५ रुपैयाँको दरले वृद्धि गरेको छ।

नयाँ मूल्यअनुसार अब मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४९५ रुपैयाँ, ठूलो अण्डा ५१० रुपैयाँ र एक्स–एल अण्डा ५४० रुपैयाँ पुगेको छ। उक्त मूल्य किसानले प्राप्त गर्ने मूल्य हो । खुद्रा मूल्य भने थप हुने छ ।

यसअघि किसानले मध्यमको लागि ३८५, ठूलो अण्डाको लागि ४८०, र एक्स–एल अण्डाको लागि ५२५ रुपैयाँ पाउँदै आएका थिए ।

नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन पोखरेलले चितवनबाट लोडभइ देशभरका अण्डा बिक्री डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप लाग्ने जनाए ।