‘विवाह गरौं’ भन्दा प्रेमिकाले आलटाल गरेपछि बनेपामा युवतीको हत्या, पक्राउ परे सन्तोष

595
Shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा एक महिला मृत अवस्थामा फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

आइतबार चौरीदेउराली गाउँपालिका–१ की ३३ वर्षीया शर्मिला उप्रेती बनेपा नगरपालिका–१३ भगवान थुम्की सामुदायिक जंगलको भिरालो जमिनमा रहेको चिलाउनेको रुखको फेदमा मृत फेला परेकी थिइन् ।

उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले रामेछाप मन्थली नगरपालिका–१३ का ३७ वर्षीय सन्तोष सुनारलाई पक्राउ गरेको हो।

डिएसपी मीनबहादुर घलेका अनुसार, सन्तोषलाई आइतबार राति बनेपाकै एक इँटाभट्टामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।

शर्मिला असार ३२ गतेदेखि बेपत्ता थिइन्। शनिबार भगवान थुम्की जंगलमा शव फेला परेपछि उनकी बाबु कमलबहादुर उप्रेतीले शव पहिचान गरेका थिए।

अनुसन्धानका क्रममा मृतक शर्मिला र सन्तोष सुनार २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको पाइएको प्रहरीले जनाएको छ ।

सन्तोषले शर्मिलालाई विवाह गर्न प्रस्ताव गरेका थिए । तर शर्मिलाले विवाह गर्न आलटाल गरेको र उनी अर्कै पुरुषसँग लागेको आशंका लागेपछि योजना बनाएर हत्या गरेको सन्तोषले प्रहरीसँगको प्रारम्भिक बयानमा भनेका छन् ।

पक्राउ परेका सन्तोषमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट चार दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।