
काठमाडौं । विश्वभर नै महिला उद्यमीहरूको संख्या पुरुषको तुलनामा अति न्यून छ । न त उनीहरू प्रभावकारी भूमिकामा नै छन् ।
विशेषगरी उनीहरूले श्रीमान वा पिताको उद्यममा केही प्रतिशत सेयर हिस्सेदारी लिएर त्यसैबाट आफ्नो बिजनेस करिअर अगाडि बढाउनु परिरहेको छ । अर्थात् उद्यमको फर्स्ट पोजिसनमा उनीहरूको संख्या अति न्यून छ । नेपाल मात्र नभएर संसारभरी नै लामो समयदेखि महिलाहरूको भूमिका यस्तैमा बढी देखिँदै आएको छ ।
प्राय श्रीमान वा पिताको निधनपछि व्यवसायको जिम्मा श्रीमती वा छोरीको काँधमा आउने अवस्थामा मात्रै महिलाले उक्त व्यवसायको नेतृत्व गर्न पाएका छन् ।
यद्यपि यस्ता चुनौतीका बावजुद पछिल्लो समय महिलाहरूले आफ्नै क्षमता र योग्यताको जगमा उभिएर उद्यम सुरु गर्ने क्रम विस्तारै बढ्न थालेको छ ।
विशेषगरी लामो अध्ययन र अनुभवबाट महिलाहरू पनि उद्यममा सक्रिय हुन थालेको देखिन्छ । यसबीचमा कतिपय महिलाहरू आफैं व्यवसायको संस्थापक बनेर काम गर्ने क्रम बढ्न थालेको छ । अमेरिकी म्यागजिन फोर्ब्सको तथ्यांक अनुसार हालसम्म अन्दाजी ६५ करोड ८० लाख महिलाहरूले आफैं कम्पनी स्थापना गर्ने वा कम्पनीको नेतृत्व गर्ने स्थानमा छन् । जवकि ७७ करोड २० लाख पुरुषहरू कम्पनीको नेतृत्वमा रहेका छन् । यो फोर्ब्सले तयार पारेको विश्वव्यापी उद्यमको तथ्यांक हो ।
जवकि दुईतिहाइ प्रारम्भिक चरणबाटै उद्यम सुरु गरेका महिलाहरू हुन् । र उनीहरूका पुरुष समकालीनहरूको तुलनामा उक्त संख्या आधाभन्दा पनि कम हो ।
जेम्स लेटेस्ट ओमेन’स इन्टरप्रेनरसिप रिपोर्टकी लेखिका अमान्दा आलमका अनुसार महिला उद्यमीहरूको संख्या नै स्वास्थ्य र शिक्षा घाटा जस्ता विषयमा नीतिगत समाधानको पहिलो उपाय हो ।
रिपोर्टको अध्ययनले के पनि देखाउँछ भने, महिलाहरूले संचालन गरेका उद्यमहरू अन्यको तुलनामा बस्नका लागि अनुकुल हुनुका साथै यसले विश्वव्यापी रुपमा विकास र जागरण फैलाउने काम गर्नेछ ।
यसै क्रममा अमेरिकी प्रसिद्ध म्यागजिन फोर्ब्सले विश्वभरबाट स्वयं मालिक वा संस्थापक रहेका ५० महिलाहरूको सूची सार्वजनिक गरेको छ । उक्त रिपोर्टमा महिला उद्यमीहरूले यस क्षेत्रमा देखेका सम्भावना र चुनौतीहरूबारे पनि चर्चा गरिएको छ ।
अर्थात् फोर्ब्सले आफ्नै योग्यता, क्षमता र नेतृत्वमा धनी बनेका ५० महिलाहरूको सूची सार्वजनिक गरेको हो । उक्त सूचीमा नेपालको छिमेकी देश भारतदेखि, चीन, जापान लगायत एसियाका धेरै देशका महिला उद्यमीहरू परेका छन् ।
उक्त सूचीमा परेका महिलाहरूको सम्पत्ति २ खर्ब ७६ अर्ब अमेरिकी डलरदेखि न्यूनतम ५ अर्ब ५ करोड डलरसम्म रहेको छ ।
तर २०२१ मा आफ्नै क्षमतामा सर्वाधिक धनी बनेका महिलाहरूको सम्पत्तिभन्दा १० अर्ब डलरले कम हो भने । २०१७ मा आफैं धनी बनेका महिलाहरूको भन्दा १५ अर्ब ८० करोडभन्दा धेरै हो । जवकि फोर्ब्सले २०१७ देखि नै आफ्नै क्षमतामा धनी बनेका महिला उद्यमीहरूको सूची सार्वजनिक गर्न थालेको हो ।
यसपटक फोर्ब्सको उक्त सूची अनुसार प्रविधि क्षेत्रमा धेरै महिला उद्यमीहरू सक्रिय बनेको देखिन्छ । अर्थात् प्रविधि क्षेत्रको प्रभाव अन्यको तुलनामा धेरै छ ।
यस्तै, ‘सेल्फमेड रिच’ महिलाहरूको उक्त सूचीमा चीन र हंगकंगको वर्चश्व रहेको छ । जवकि अमेरिका तेस्रोमा रहेको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको अमेरिकालाई दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले यसपटक उछिनेको हो । र प्रविधि क्षेत्रमा लगानी गर्नेको पनि उत्तिकै वर्चश्व रहेको देखिन्छ ।
आफ्नै क्षमतामा सर्वाधिक धनी बन्ने महिला को हुन् ?
फोर्ब्सको सूची अनुसार आफ्नै क्षमतामा धनी बनेका महिलाहरूमध्ये स्विजरल्यान्डकी उद्यमी राफेल अपोन्टे डायमान्ट हुन् । जसको सम्पत्ति ३८ अर्ब ८० करोड अमेरिकी डलर रहेको छ । अर्थात् नेपाली मुद्रामा हेर्दा यो रकम ५३ खर्ब २७ अर्ब, ८२ करोड २० लाख रुपैयाँ जति हुन्छ ।
स्विजरल्यान्डकी राफेलले आफ्ना पति गियानलुगी अपोन्टेसँग मिलेर मेडिटेरेनियन सिप कम्पनी संचालन गरेकी हुन् । जुन हाल विश्वकै सर्वाधिक ठूलो सिप कम्पनीको रुपमा चिनिएको छ । जुन कम्पनीमा हाल १ लाख ३६ हजार कामदार रहेका छन् भने ९ सयवटा पानीजहाज छन् । र ६ सय ७५ ठाउँमा यस कम्पनीको कार्यालय रहेका छन् ।
राफेलले आफ्नो कम्पनी २ लाख डलर ऋण लिएर सुरु गरेकी थिइन् । जुन रकम उनको दम्पतीले जहाजमा लगानी गरेको थियो । र पछि क्रमश उनले जहाजहरू थप्दै गइन् ।
दोस्रो नम्बरमा भने अमेरिकी डायन हेन्ड्रिक्स छिन् । जसको कुल सम्पत्ति २२ अर्ब ३० करोड डलर रहेको छ । एबिसी सप्लाइको सहसंस्थापकको रुपमा उनले आफ्नो बिजनेस करिअर सुरु गरेकी हुन् । जुन छत तथा साइडिंग वितरण गर्ने विश्वकै ठूलो वितरक कम्पनीमध्ये एक हो । डायन अमेरिकाका हाइप्रोफाइल १८ व्यक्तिमध्ये एक हुन् ।
कस्तो छ नेपाली महिला उद्यमीको अवस्था ?
नेपाली महिलाहरू पनि पछिल्लो समय उद्यममा सक्रिय हुने क्रम बढ्दो मात्रामा देखिन्छ । विशेषगरी नेपालमा लोकतन्त्र स्थापनापछि महिलाहरू पनि उद्यममा सक्रिय हुन थालेका हुन् ।
त्यसो त, हाल सरकारले पनि महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने उदेश्यले कम्पनी दर्ता, कर लगायत विषयमा सहुलियत दिँदैआएको छ । यसबीचमा उच्च व्यवसायिक घरानाका महिलाहरू उद्यममा सक्रिय बन्न थालेका छन् ।
सिर्जना राण, भवानी राणा, ज्योत्सना राणा, ऋतुसिंह बैद्य लगायत महिलाहरू यसका उदाहरण हुन् । भवानी राण त उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत बनिसकेकी छन् ।
यद्यपि विश्वव्यापी रुपमा उनीहरूले आफ्नो व्यवसायलाई फैलाउन भने सकिरहेका छैनन् । तर अष्ट्रेलियामा बसेर व्यवसाय गर्दैआएकी जमुना घलेले आफ्नो अलग प्रभाव र पहिचान छाडेकी छन् ।
अष्ट्रेलियाका सर्वाधिक ५० धनाढ्यमा जमुना घले पनि परेकी छन् । उनले आफ्ना पति शेष घलेसँग मिलेर होटल तथा हस्पिटालिटीमा लगानी गर्दैआएकी छन् । गैरआवासीय नेपाली संघको अध्यक्ष समेत बनेका शेष र उनकी पत्नी जमुनाले पछिल्लो समय नेपालका विभिन्न क्षेत्रमा पनि लगानी गरेका छन् ।
नेपालको सन्दर्भमा सबैभन्दा धनी महिला उद्यमी सम्भवत उनै जमुना घले हुन् । जसको सम्पत्ति ९० करोड अष्ट्रेलियन डलर रहेको सार्वजनिक भएको ।
यसवाहेक फोर्ब्सले हरेक वर्ष उद्यमबाट उदाहरणीय बनिरहेका युवा महिलाहरूको सूची सार्वजनिक गर्ने क्रममा पछिल्ला वर्षहरूमा केही नेपाली युवतीहरू पनि परेका छन् ।
विशेषगरी एसियाका ३० वर्षमुनिका प्रभावशाली ३० महिलाहरूको सूचीमा नेपाली युवतीहरू परेका छन् । पछिल्लो वर्ष मात्रै शिलशिला आचार्य यो सूचीमा परेकी थिइन् । अघिल्लो वर्ष भने श्रिया गिरी र काजोल सेठियालाई फोर्ब्सले एसियाका ३० महिलाको सूचीमा सूचीकृत गरेको थियो ।
हेर्नुस् आफ्नै क्षमताले सर्वाधिक धनी बनेका महिला उद्यमीहरूको यस वर्षको सूची, कुन देशका कति परे ?
१. राफाएला अपोन्ते–डायमाण्ट (स्विजरल्याण्ड)- शिपिङ
२. डायन हेन्ड्रिक्स (संयुक्त राज्य)– निर्माण सामग्री
३. झोङ हुइजुआन (चीन)– औषधि
४. झोउ छुनफेइ (हङकङ)- स्मार्टफोन स्क्रिन
५. डेनीज कोएट्स (संयुक्त अधिराज्य)- अनलाइन जुवा
६. जुडी फलक्नर (संयुक्त राज्य)- स्वास्थ्य सफ्टवेयर
७. वाङ लाइछुन (हङकङ)- इलेक्ट्रोनिक कम्पोनेन्ट
८. मेरियन इलिच तथा परिवार (संयुक्त राज्य)- लिट्ल सिजर्स पिज्जा
९. लिङ ट्याङ (क्यानडा)- मार्केटिङ सफ्टवेयर, मोबाइल गेम
१०. लिन्डा रेज्निक (संयुक्त राज्य)- कृषि
११. वु याजुन (चीन)- रियल स्टेट
१२. थाइ ली (संयुक्त राज्य)- आईटी सेवा
१३. मेलानी पर्किन्स (अष्ट्रेलिया)- सफ्टवेयर
१४. एलिजाबेथ उइलिन (संयुक्त राज्य)- प्याकेजिङ सामग्री
१५. झोउ छाओनान (चीन)- उत्पादन
१६. मरिना बुडिमान (इन्डोनेसिया)- डेटा सेन्टर
१७. डेवी काम (इन्डोनेसिया)- कोइला
१८. तात्याना किम (रूस)- ई–कमर्स
१९. गेल मिलर तथा परिवार (संयुक्त राज्य)- गाडी डिलर
२०. फान डाइडी (चीन)- छाला सौन्दर्य उत्पादन
२१. फान होङवेइ (चीन)- पेट्रोकेमिकल्स
२२. जयश्री उल्लाल (संयुक्त राज्य)- कम्प्युटर नेटवर्किङ
२३. इरेन ओज्मेन (संयुक्त राज्य)- एयरोस्पेस
२४. जोनेल हन्ट (संयुक्त राज्य)- ट्रकिङ
२५. चान लैवा तथा परिवार (चीन)- रियल स्टेट
२६. मेग व्हिटम्यान (संयुक्त राज्य)- ईबे / प्रविधि
२७. म्यागी गू (चीन)- शिन (फास्ट फेसन)
२८. मोली मियाओ (चीन)- शिन (फास्ट फेसन)
२९. जुलियाना बेनेट्टन (इटाली)- फेसन खुद्रा, लगानी
३०. पेगी चेर्न (संयुक्त राज्य)- फास्ट फुड (पान्डा एक्सप्रेस)
३१. फाल्गुनी नायर (भारत)- खुद्रा (नायका)
३२. किरण मजुमदार–शॉ (भारत)- जैविक औषधि
३३. मेरिट्सा लाजारी तथा परिवार (संयुक्त अधिराज्य)- रियल स्टेट
३४. वेइली ताई (संयुक्त राज्य)- सेमिकन्डक्टर
३५. जियान जुन (चीन)- बायोमेडिकल उत्पादन
३६. लाम वाई–यिङ (हङकङ)- स्मार्टफोन स्क्रिन
३७. ओप्रा विन्फ्रे (संयुक्त राज्य)- टेलिभिजन / मिडिया
३८. छेङ शुए (चीन)- सोया सस
३९. झाओ यान (चीन)- बायोटेक
४०. साफ्रा क्याट्ज (संयुक्त राज्य)- सफ्टवेयर
४१. पान डोङ (क्यानडा)- उपभोक्ता सामग्री
४२. आना एन्जेलिकुसिस तथा परिवार (ग्रीस)- शिपिङ
४३. बारबरा ब्यान्के तथा परिवार (संयुक्त राज्य)- वाइन
४४. न्युगेन थी फुओङ थाओ (भियतनाम)- एयरलाइन्स
४५. सोलिना चाउ (हङकङ)- लगानी
४६. शेरील स्यान्डबर्ग (संयुक्त राज्य)- फेसबुक / प्रविधि
४७. रिटा टोङ लिउ (हङकङ)- रियल स्टेट
४८. ये छ्योङचिउ (चीन)- सफ्टवेयर
४९. सुसान ओक्याम्पो तथा परिवार (संयुक्त राज्य)- सेमिकन्डक्टर
५०. छु लाम यिउ (हङकङ)- फ्लेभरिङ्स








प्रतिक्रिया