
काठमाडौं । हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर नेशनल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता ११८ रुपैयाँमा किन्ने भएको छ । बैंकको संस्थापक लगानीकर्ताहरूमध्येबाट नेशनल लाइफसँगै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र बैंक लगानीकर्तामध्येका रामप्रसाद आचार्य र अर्का एक जना महिलाले पनि आवेदन दिएका थिए ।
हिमालयन बैंकमा रहेको हबिबको सेयर बिक्री गर्न प्रकाशित सूचनाको शर्त पूरा हुनेगरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै आवेदन दिएको छ ।
हिमालयन बैंकले बैंकमा रहेको संस्थापक सेयरधनी हबिब बैंकले सेयर बिक्री गर्न लागेको भन्दै इच्छुक लगानीकर्तालाई आह्वान गरेको थियो । जसमध्ये हालका संस्थापक सेयरधनीमध्येका संस्थागत लगानीकर्तामा दुई इन्स्योरेन्स कम्पनी र व्यक्तिगत लगानीकर्तातर्फ पनि २ जनाले इच्छा देखाएका हुन् ।
हिमालयन बैंकमा रहेको कुल २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर प्रतिकित्ता ११२.८० रुपैयाँको दरले एकमुष्ट बिक्रीको लागि हबिबले निवेदन दिएको थियो । सोहीअनुसार बैंकले गत जेठ ३० गते एकमुष्ट किनबेच हुने गरी संस्थापक सेयरधनीलाई सूचना निकालेको थियो ।
सोही निवेदनको आधारमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८१ को निर्देशन नं १० बमोजिम बैंकको हाल कायम सेयरधनीलाई सेयर खरिदको लागि आह्वान गरिएको थियो ।
सो आधारमा २ करोड ८० लाख कित्ता सेयर नै खरिद गर्न इच्छुक र क्षमता भएका लगानीकर्ताले मात्रै आवेदन दिनुपर्ने थियो । बैंकका बहालवाला लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने थियो ।
सोही आह्वानका आधारमा बहालवाला ४ संस्थापक सेयरधनीले उक्त सेयर खरिदको लागि आवेदन दिएका हुन् । जसमध्ये सूचना अनुसारको शर्त पूरा गर्नेगरी नेशनल लाइफ इन्स्योरेन्सले मात्र आवेदन दिएको हिमालयन बैंक स्रोतले जनाएको छ ।
हबिबको नाममा रहेको बैंकको सेयर एकमुष्ट खरिद गर्नेगरी आवेदन आह्वान भएको थियो । ३५ दिनको सूचना गत बिहीबार सकिएर शुक्रबार नै आवेदन दिनेहरूको शिलबन्दी खोलिएको थियो । ३ वटै आवेदनमध्ये प्रभु महालक्ष्मी लाइफ र २ जना व्यक्तिगत लगानीकर्ताले हबिबले बेच्न लागेको सेयरको केही प्रतिशत मात्रै खरिद गर्नका लागि आवेदन दिएका थिए । तर, नेशनल लाइफले भने प्रतिकित्ता ११८ रुपैयाँमा सबै सेयर खरिद गर्नेगरी आवेदन दिएको बैंक स्रोतले पुष्टि गरेको छ ।
हिमालयन बैंकमा रहेको हबिब बैंकको सबै सेयर किन्नका लागि आवेदन दिएको नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश खत्रीले क्लिकमान्डुलाई बताए ।
बैंकको सेयर खरिद गर्न हिमालयन रि–इन्स्योरेन्स कम्पनीले पनि चासो देखाएको थियो । तर, कम्पनी बैंकको बहालवाला सेयरधनी होइन । बैंकको बहालवाला सेयरधनीले सेयर किन्न तयार नभए मात्रै दोस्रो चरणमा अन्य सेयरधनीले आवेदन दिन पाउने थिए । तर, बहालवाला सेयरधनी नेशनल लाइफ नै आवेदन दिएपछि र नेशनल लाइफले बैंकको उक्त सेयर खरिद गर्न सक्ने अवस्था देखिँदा हिमालयन रिले सेयर खरिद गर्ने बाटो टुंगिएको हो ।
बिहीबारसम्म संस्थापक सेयरधनीले सेयर खरिदको लागि आवेदन नदिएको भए व्यक्ति वा संस्थालाई संस्थापक सेयर बिक्री प्रक्रिया अगाडि बढाइने थियो । तर, संस्थापक सेयरधनी नै सबै सेयर किन्न इच्छुक देखिएपछि हिमालयन बैंकको सेयर किन्ने आकांक्षीहरूको बाटो बन्द भएको हो ।
बैंकमा पाकिस्तानको हबिबको १२.९३ प्रतिशत सेयर हिस्सा छ । हिमालयन बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ । हबिबले बेच्न चाहेको न्यूनतम मूल्यभन्दा बढीमा नेशनल लाइफले आवेदन हालेको हो ।
हिमालयन बैंकको सेयर किन्ने सबैभन्दा ठूलो आकांक्षी हिमालयन रि–इन्स्योरेन्स कम्पनी थियो । हिमालयन रिले उक्त सेयर खरिद गर्ने सहमतिसहित राष्ट्र बैंकमा डेढ वर्षअघि नै आवेदन दिएको भए पनि राष्ट्र बैंकले त्यतिबेला सहमति नदिँदा सेयर बेच्ने प्रक्रिया रोकिएको थियो । २०८० मंसिरमा नै पाकिस्तानको हबिब बैंक र हिमालयन रि इन्स्योरेन्सबीच सेयर खरिदबिक्रीको सम्झौता भएको थियो । हिमालयन बैंक र हिमालयन रि इन्स्योरेन्सको सञ्चालक समितिले उक्त सम्झौतालाई स्वीकृति दिँदै किनबेचका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिएका थिए ।
नेपाल राष्ट्र बैंकले ३ वटा कारणसहित त्यतिबेला उक्त सेयर कारोबारको लागि सहमति दिएको थिएन । सेयर खरिद गर्ने हिमालयन रि इन्स्योरेन्सको लगानी सन्दर्भमा ‘फिट एन्ड प्रोपर टेस्ट’ को लागि आवश्यक विवरण माग गरेको थियो । त्यस्तै राष्ट्र बैंकको प्राथमिकता विदेशी कुनै लगानीकर्ता उक्त सेयर खरिद गर्न इच्छुक भएसँगै विदेशी लगानीलाई नै प्राथमिकतामा राख्ने भन्ने रहेकोले त्यसलाई पनि ध्यान दिन बैंकलाई राष्ट्र बैंकले त्यतिबेला आग्रह गरेको थियो । त्यस्तै सिभिल बैंकसँग मर्जरमा गएको २ वर्ष पूरा नहुँदा बहालवाला सेयरधनीले सेयर बिक्री गर्दा लाग्ने ठूलो पूँजीगत लाभकर गुम्ने परिस्थितिले गर्दा पनि त्यतिबेला राष्ट्र बैंकले स्वीकृति नदिई रोकेको थियो ।
२ बैंक मर्जर भएको २ वर्ष पूरा भइसकेको हुँदा अब सेयर कारोबार भएमा कर छुटको विषयमा कुनै समस्या देखिँदैन । यद्यपि उक्त सेयर खरिद गर्न योग्य नेशनल लाइफले नै उक्त सेयर खरिद गर्ने भएपछि हिमालयन रि ले सेयर खरिद गर्ने सम्भावना सकिएको छ ।
नेशनल लाइफले जीवन बीमा कम्पनीको लगानी निर्देशिका अनुसार पनि उक्त सेयर सहज रूपमा खरिद गर्न सक्ने देखिन्छ । आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार नेशनल लाइफले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै, अन्य संस्थापक सेयरमा कम्पनीले १ अर्ब ६३ करोड रुपैयाँ लगानी गरेको छ । बीमा प्राधिकरणको लगानी सम्बन्धी निर्देशनका अनुसार जीवन बीमकले बढीमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ ।
यी दुबै लगानी गरेर नेशनल लाइफको सेयरमा लगानी २ अर्ब ९५ करोड रुपैयाँ मात्रै लगानी गरेको देखिन्छ । कम्पनीको कुल लगानी ६७ अर्ब भन्दा धेरै छ । यसको १० प्रतिशत सेयरमा लगानी गर्दा पनि ६ अर्ब ७० करोड हुन आउँछ । कम्पनीले हिमालयन बैंकमा रहेको हबिबको सेयर ३ अर्ब ३० करोड ५४ लाख ६८ हजार ७९९ रुपैयाँ १ पैसामा खरिद गर्ने तयारी गरेको हो।
यसअनुसार नेशनल लाइफले हिमालयनको सेयर खरिद गर्न प्राधिकरणको स्वीकृति लिन पनि पर्दैन । यद्यपि, तोकिएको सीमाभन्दा बढी लगानी गर्दा भने बीमा कम्पनीले नियामकको स्वीकृति लिनुपर्ने हुन्थ्यो । हिमालयन रिले हिमालयन बैंकमा रहेको हबिबको सेयर किन्ने योजना जेठ २५ गतेको वार्षिक साधारणसभामै सुनाएको थियो ।
कम्पनीको वार्षिक साधारणसभामा कम्पनीको लगानी विविधिकरणबारे उठेको प्रश्नको जवाफ दिँदै अध्यक्ष शेखर गोल्छा र प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले सेयरधनीलाई यसबारे अवगत गराएका थिए ।
साधारणसभाको ‘माइन्युट’मा बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजको दर निरन्तर घटिरहेको अवस्थामा लगानीको प्रतिफल बढाउने तथा लगानी विविधिकरण गर्ने अभिप्रायका साथ हिमालयन बैंकको मुख्य लगानीकर्तामध्ये हबिब बैंकको सेयर कम्पनीले खरिद गर्ने प्रक्रिया सुरु गरेको र सम्पन्न हुने क्रममा रहेको गोल्छा र पौडेलले जानकारी गराएका थिए ।










प्रतिक्रिया