
काठमाडौं । चक्रपथ (रिङरोड) को विस्तारका क्रममा अघिल्ला गल्ती दोहोरिन नदिन पूर्वाधार विकास समितिले समयमै योजना स्पष्ट गर्न सरकारलाई आग्रह गरेको छ ।
शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति दीपकबहादुर सिंहले कलंकी–नारायणगोपाल चोक–कोटेश्वर खण्डमा भइरहेको रिङरोड विस्तारको क्रममा ओभरपास वा अण्डरपास कहाँ राख्ने भन्ने विषय अहिले नै निश्चित गर्नुपर्ने बताएका हुन् ।
उनले ढिलो गरी निर्णय गर्दा लागत र समय दुवै खेर जाने तर्फ ध्यानाकर्षण गराउँदै भने, ‘हिजो बल्खु अण्डरपासको अनुभवबाट हामीले धेरै सिकिसकेका छौँ । अति आवश्यक ठाउँमा समयमै योजना नबनाउँदा बनेका संरचना पछि उखेल्नुपर्ने, केही स्थानमा अनावश्यक संरचना बनेर प्रयोगमै नआएको अवस्थामा अब त्यो गल्ती नदोहोरिनु जरुरी छ ।’
सभापति सिंहले अझ भने, ‘यो चक्रपथको करिब १.२ किलोमिटर खण्डको डीपीआर गर्दा नै कुन ठाउँमा फ्लाइओभर वा अण्डरपास आवश्यक पर्छ भनेर यकिन गर्नुपर्छ । अहिले निर्णय नगरेर पछि सुधार गर्नु पर्ने अवस्था आयो भने समय, पैसा र जनधन सबै खेर जान्छ ।’
उनले कोटेश्वर–नारायणगोपाल चोक–चाबहिल–गौशाला, सातदोबाटो र स्वयम्भू क्षेत्रजस्ता जाम बढ्ने सम्भावित स्थानहरू पहिचान गरी प्रारम्भिक आयोजना प्रतिवेदन (डीपीआर) बनाउँदै अघि बढ्न सरकारलाई आग्रह गरे ।
‘हामीले बल्खुबाट सिकेका छौँ,’ सिंहले थपे, ‘जुन ठाउँमा अहिले बनेको अण्डरपास सकिएपछि तुरुन्तै अगाडि नै जाम हुन्छ भने त्यसको समाधान होइन समस्या थपिएको हो । त्यसैले अब बन्ने संरचना दीर्घकालीन सोच र वैज्ञानिक विश्लेषणसहित बनाइनुपर्छ।’
सभापति सिंहले समितिको तर्फबाट यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रह गर्दै आवश्यक पूर्वाधार समयमै योजना बनाउन र चक्रपथ विस्तारसँगै डीपीआरमार्फत स्पष्ट खाका तयार पार्न निर्देशन दिएका हुन् ।







प्रतिक्रिया