
काठमाडौं । नेपालको प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले क्रस बोर्डर युपिआइ कारोबारमा ऐतिहासिक प्रगति हासिल गरेको छ। कम्पनीका अनुसार भारतीय प्रयोगकर्ताहरूले फोनपे नेटवर्कमार्फत नेपालमा गरेका युपिआइ कारोबार संख्या १० लाख नाघेको छ।
यो उपलब्धिले नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरूले डिजिटल भुक्तानीप्रति देखाएको चासो, सहजता र भरोसा झल्काएको छ। युपिआइ सक्षम एप्समार्फत फोनपे क्युआर स्क्यान गरी सहज र सुरक्षित भुक्तानी गर्ने ग्राहकहरूको संख्या तीव्र गतिमा बढिरहेको कम्पनीको दाबी छ।
फोनपेका अनुसार हालसम्म २ अर्ब रुपैयाँभन्दा बढीको युपिआइ कारोबार प्रशोधन भइसकेको छ। युपिआइ सेवा देशका ७७ वटै जिल्लामा विस्तार भएको छ भने १ लाखभन्दा बढी व्यापारीहरूमार्फत सेवा दिइँदै आएको छ।
यसको शीर्ष कारोबार क्षेत्र र स्थानहरूमा रेस्टुरेन्ट, किराना पसल, होटल तथा रिसोर्ट रहेका छन । यी मध्ये काठमाडौं, कास्की र कैलालीमा धेरै कारोबार हुने जिल्ला हुन् ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवश कुमारले भने, १० लाख युपिआइ कारोबार पार गर्नु भनेको नेपालको डिजिटल भुक्तानी प्रणालीप्रति भारतीय ग्राहकहरूले देखाएको विश्वास र अपनत्वको प्रमाण हो। यस माइलस्टोनले फोनपे नेटवर्कप्रति देखिएको सहजता र आत्मविश्वास मात्र होइन, समग्र क्षेत्रीय डिजिटल अर्थतन्त्रप्रतिको हाम्रो प्रतिबद्धतालाई पनि पुष्टि गर्छ।
फोनपेका अनुसार यस वृद्धिको प्रमुख कारणमा व्यापारीहरूमाझ बढ्दो स्वीकृति, नेपाल भ्रमणमा आउने भारतीय पर्यटकको संख्यामा वृद्धि, र अन्तरसञ्चालनीय क्युआर प्रणालीको सहजता रहेका छन्।
फोनपेले आगामी दिनमा डिजिटल नवप्रवर्तनलाई थप सुदृढ गर्दै क्रस(बोर्डर भुक्तानी सेवा तथा प्रयोगकर्ता अनुभवलाई अझ प्रभावकारी बनाउनका लागि नयाँ योजना अघि बढाइरहेको जनाएको छ।










प्रतिक्रिया