
काठमाडौं । नेपाल टी २० फ्रेन्चाइज टोली बिराटनगर किंग्सले आगामी सिजनका लागि हायात सेन्ट्रिक सोल्टीमोडसँगकाे सहकार्यलाई निरन्तरता दिएको छ । बिराटनगर किंग्स र हायात सेन्ट्रिक पुनः हस्पिटालिटी पार्टनर हुने विषयमा सम्झौता भएको छ । यी दुइ संस्थाबीच गत वर्षदेखि सहकार्य हुन थालेकाे हो ।
राजधानीको केन्द्रमा अवस्थित हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौं उत्कृष्ट सेवा, आधुनिक सुविधा र नेपाली संस्कृतिको समायोजन भएको आकर्षक वातावरणका लागि परिचित छ। यो साझेदारीले खेलकुद र आतिथ्य क्षेत्रबीचको समन्वयलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।
सहकार्य अन्तर्गत प्रतियोगिता अवधिभर बिराटनगर किंग्सका खेलाडी, अफिसियल तथा विशेष पाहुनाहरूले हायात सेन्ट्रिकको प्रिमियम हस्पिटालिटी सेवा प्राप्त गर्नेछन्। टिम व्यवस्थापनले हस्पिटालिटी सेवामार्फत मैदानबाहिरको समय सहज, सन्तुलित र उत्साहजनक हुने अपेक्षा व्यक्त गरेको छ।
बिराटनगर किंग्सका व्यवस्थापनले भनेका छन्, “हामी हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौंसँग पुनः सहकार्य गर्न पाउँदा निकै खुसी छौं। गत सिजनमा पाएको आतिथ्यता, पेसागत सेवा र समर्पण प्रशंसनीय थियो। यसले टिमभित्र सकारात्मक वातावरण सिर्जना गरेको थियो। हामी यस सिजन पनि सँगै काम गर्न आतुर छौं।”
टिमले यो सहकार्य केवल सुविधा र आरामसँग सीमित नभई समग्र सिजनभरको अनुभवमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरेको छ। टिमले मैदानभित्रको प्रदर्शन मात्र नभई मैदानबाहिर पनि उत्कृष्टता हासिल गर्ने लक्ष्यसहित यस प्रकारका साझेदारीलाई महत्व दिएको छ।
बिराटनगर किंग्स मैदानभित्र र बाहिर दुबै क्षेत्रमा निरन्तर उत्कृष्टता हासिल गर्न प्रतिबद्ध छ । हायात सेन्ट्रिकसँगको यो सहकार्य आगामी यात्राको अर्को महत्वपूर्ण पाटो भएको उल्लेख गरिएको छ ।










प्रतिक्रिया