बाढीले क्षति पुर्‍याएको रसुवागढी हाइड्रो सञ्चालनमा आउन समय लाग्ने, अरुको अवस्था के छ ?

210
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले हालैको भोटेकोशी बाढीका कारण गम्भीर क्षति पुगेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन समय लाग्ने जानकारी दिएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री खड्काले बाढीले आयोजना क्षेत्रको हेडबक्समा पूर्ण रूपमा क्षति पुर्‍याएको बताउँदै यसको पुनःनिर्माणका लागि समय लाग्ने स्पष्ट पारे ।

उनका अनुसार बाढीले त्रिशुली नदी करिडोरमा सञ्चालनमा रहेका विभिन्न जलविद्युत आयोजना र प्रसारण संरचनामा पनि गम्भीर क्षति पुर्‍याएको छ । ‘बाढीका कारण करिब २६० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको थियो,’ मन्त्री खड्काले भने ।

तर, केही आयोजनाहरू पुनः सञ्चालनमा आइसकेको र केही छिट्टै सञ्चालनमा आउने तयारीमा रहेको जानकारी पनि उनले दिए । ६० मेगावाट क्षमताको त्रिशुली ए जलविद्युत आयोजना केही दिनमै सञ्चालनमा आउने उनले बताए ।

हालसम्म पुनः सञ्चालनमा ल्याइएका आयोजनाहरूमा चिलिमे, त्रिशुली, देवीघाट, सूर्यकुण्ड, बुद्धभूमि, अप्पर मैलुङ लगायतका आयोजनाहरू छन्, जसको कुल उत्पादन क्षमता ९० मेगावाट रहेको छ ।

मन्त्री खड्काका अनुसार २२० केभी, १३२ केभी र १३३ केभी क्षमताका त्रिशुली–३बी सवस्टेशन समेत बाढीबाट प्रभावित भएका छन् । साथै, सम्भावित जलविद्युत आयोजना क्षेत्रहरूमा पनि क्षति पुगेको छ ।

रसुवागढी जलविद्युत आयोजनालाई पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने मन्त्री खड्काले बताएका छन् ।