९३ अर्ब लागतमा ४३९ मेगावाटको बेतन कर्णाली हाइड्रो ५ वर्षभित्र बन्ने, उत्पादन अनुमतिपत्र प्रदान


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत आयोजनालाई विद्युत उत्पादनका लागि अनुमतिपत्र प्रदान गरेको छ ।

ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममार्फत ऊर्जा सचिव सुरेश आचार्यले कम्पनीका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्णप्रसाद आचार्यलाई उत्पादन अनुमतिपत्र हस्तान्तरण गरे । सो अवसरमा सचिव आचार्यले आयोजना समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै सबै सरोकारवाला पक्षको समन्वयमा अगाडि बढ्न निर्देशन दिए ।

सचिव आचार्यले भारतीय अप्पर कर्णाली हाइड्रोपावरसँग समन्वयमा अनुमति प्रक्रिया टुंग्याइएको जानकारी दिए । उनका अनुसार वर्षौंदेखि रोकिएको अनुमति प्रक्रिया ऊर्जामन्त्री दीपक खड्काको सक्रिय निर्देशनपछि टुंगोमा पुगेको हो । यसले उत्पादक, लगानीकर्ता र सञ्चयकर्तामा नयाँ उत्साह थपेको उनले बताए ।

कार्यक्रममा कर्णाली र सुदूरपश्चिम क्षेत्रका सांसदहरू पुष्प बहादुर शाह, शेर बहादुर कुँवर र ह्रदयराम थामी तथा आयोजनास्थित स्थानीय जनप्रतिनिधिहरूको पनि उपस्थिति थियो ।

अनुमति प्राप्तिपछि कम्पनीका प्रवन्ध सञ्चालक कृष्णप्रसाद आचार्यले पूर्वका कूटनीतिक प्रयास, सरोकारवाला निकायको सहयोग तथा नीतिगत सहजीकरणले आयोजनाको बाटो खुलेको भन्दै मन्त्री र कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरे ।

करिब ९३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा कर्मचारी सञ्चयकोष, नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनी लिमिटेडबाट क्रमशः १५, १० र १० प्रतिशत लगानी रहनेछ । बाँकी लगानीमा ४० प्रतिशत कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा कर्मचारीहरूको र २५ प्रतिशत स्थानीय तथा सर्वसाधारणको सहभागिता रहनेछ ।

कम्पनीले निर्माण कार्य तत्काल सुरू गरी आगामी पाँच वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ ।