ऊर्जामन्त्रीले हस्तक्षेप र मनोमानी गरेकोभन्दै प्राधिकरणका कर्मचारी धर्ना बसे


काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले हस्तक्षेप र मनोमानी गरेको भन्दै नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरू धर्नामा बसेका छन् । सत्तारूढ र प्रतिपक्ष निकट चार ट्रेड युनियन आबद्ध कर्मचारीहरूले आइतबार तोकिएको सञ्चालक समिति बैठक अवरुद्ध गर्ने चेतावनीसहित धर्ना थालेका हुन् ।

कर्मचारीहरूले मन्त्री खड्काले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दबाब दिएर सरुवाको निर्णय गराएको आरोप लगाएका छन् । असार २२ गते सरुवा नपुगेपछि साउन २२ भित्र पुनः सरुवा गराउने निर्णय दबाबपूर्वक गराइएको उनीहरूको भनाइ छ ।

कर्मचारीहरूले कार्यकारी निर्देशकको जानकारीविना सञ्चालक समितिमा कर्मचारी सेवा शर्त विनियमावली संशोधन सम्बन्धी प्रतिवेदनमाथि छलफल गरिएको भन्दै आपत्ति जनाएका छन् ।

कार्यकारी निर्देशकको अधिकार कटौती गरी सरुवा सम्बन्धी सम्पूर्ण निर्णय सञ्चालक समितिको स्वीकृतिमा सीमित गरिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् । तह ९ माथिका कर्मचारीको सरुवा, तह १० माथिका कर्मचारीको काज तथा आयोजना र कम्पनीको अस्थायी दरबन्दीसमेत सञ्चालक समितिबाट मात्रै स्वीकृत हुने व्यवस्था गरिएको उनीहरूको दाबी छ ।

धर्ना कार्यक्रममार्फत युनियनहरूले मन्त्री र सचिवको हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाउँदै प्राधिकरण सञ्चालनमा मनपरी प्रवृत्ति दोहोरिन नदिन चेतावनी दिएका छन् ।