
काठमाडौं । सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन हुने भएको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकको आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गरिने घोषणा गरिएको हो ।
‘सुन आयात तथा बिक्री वितरणसम्बन्धी अध्ययन प्रतिवेदनको सिफारिससमेतको आधारमा नेपाल सरकारको समन्वयमा सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गरिनेछ,’ मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले भने ।
यस्तै, मौद्रिक नीतिमा नेपालमा विदेशी लगानी गर्ने लगानीकर्ता, विदेशी लगानी भएका उद्योग र कम्पनी र नेपालमा संस्थापित विदेशी कम्पनीको शाखा (सम्पर्क कार्यालय) स्थायी संस्थापनाले साँवा, ब्याज तथा लाभांशलगायत फिर्ता भुक्तानी लैजाने व्यवस्थामा सहजीकरण गरिने पनि उल्लेख छ ।
भन्सार स्वःघोषणा गर्नु पर्ने नगद विदेशी मुद्राको सीमामा पुनरावलोकन गरिने पनि मौद्रिक नीतिमा भनिएको छ । नेपाली नागरिक वा संस्थाको नाममा विदेशमा रहेको विदेशी विनिमयको विवरण पेस गर्नु पर्ने व्यवस्थामा सहजीकरण गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ ।







प्रतिक्रिया