२० वर्षमा विवाह गरेर ३० वर्षभित्र ३ सन्तान पाइहाल्न प्रधानमन्त्री ओलीको सुझाव

483
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसंख्याको समानुपातिक वृद्धि नभए मानव अस्तित्व नै संकटमा पर्ने चेतावनी दिएका छन् ।

विश्व जनसंख्या दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय जनसंख्या नीति, २०८२ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले विकास र जनसंख्याको वृद्धि सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिए । प्रत्येक व्यक्तिले सन्तान जन्माउने जिम्मेवारीलाई पृथ्वीप्रतिको उत्तरदायित्वका रूपमा लिनुपर्ने आवश्यकता औँल्याए ।

प्रधानमन्त्री ओलीले भने, ‘मानव अस्तित्वको अर्थ छ भने पृथ्वीको पनि अर्थ रहन्छ । जनसंख्याबिना देशको अस्तित्व हुँदैन। मानव जातिको सुखद र सुरक्षित भविष्यका लागि उपयुक्त नीति र प्रभावकारी कदमहरू चाल्न अत्यावश्यक छ।’

उनले जनसंख्याबारे गोष्ठी र सेमिनार गर्दै, अर्कोतर्फ मानवनाशका हतियार निर्माण गर्ने प्रवृत्ति दोहोर्‍याउने हो भने मानव सभ्यता नै संकटमा पर्ने चेतावनी दिए । ‘जनसंख्यामा असन्तुलन बढ्न दिनु हुँदैन,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले सरकारले विवाहको न्यूनतम उमेर २० वर्ष निर्धारण गरेकाले समयमा विवाह गर्न र ३० वर्षभित्र सन्तान जन्माउने विषयमा सचेत रहन आग्रह गरे । समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न र चालिस कटेपछि रमाउला भन्ने गीतमा नअल्झन उनले आग्रह गरे ।

समाजमा सन्तानप्रति निरुत्साहित गरिने सन्देशले उल्टो असर पारेर सन्तानै नहुने अवस्था देखिएकोतर्फ पनि उनले चिन्ता व्यक्त गरे ।

विकसित देशहरूमा ऋणात्मक जनसंख्या वृद्धि देखिँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालमा जनसंख्याको सन्तुलित व्यवस्थापनका लागि नयाँ जनसंख्या नीति कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।