नेप्से पुनर्संरचनाको प्रस्ताव अर्थ मन्त्रालयमा, स्वीकृतपछि दोस्रो चरणको गृहकार्य हुने

140
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेप्से पुनर्संरचनाका लागि अध्ययन प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको जानकारी दिएको छ ।

बिहीबार संघीय संसद अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले कसरी नेप्से पुनर्संरचना गर्ने भन्ने विषयमा अध्ययन गरी संरचना प्रस्तावको रिपोर्ट अर्थ मन्त्रालयमा पठाएको जानकारी दिए ।

‘हामीले लामो समयदेखि अर्थ मन्त्रायलाई पनि नेप्से पुनर्संरचना गर्नुपर्ने विषय उठाउँदै आएका थियौं । तर, अहिले आएर यो विषयले बढी नै चर्चा पाएको छ । यो विषय सरकारको नीति तथा कार्यक्रम र बजेटमा पनि आएको छ,’ पराजुलीले भने, ‘हामीले कसरी नेप्से पुनर्संरचना गर्ने भन्ने संरचनाको अध्ययन प्रस्तावको रिपोर्ट अर्थ मन्त्रालयमा बुझाएका छौं ।’

उनले उक्त प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएपछि दोस्रो चरणमा के के गर्नुपर्छ? भन्ने हिसाबमा गृहकार्य हुने जानकारी दिए । ‘सुरुमा नेप्सेलाई नै निजिकरण गर्ने भन्ने किसिमले कुरा आएको थियो । पछि यसका शब्दहरु फरक पर्दै गएपनि मुख्य आशय भनेको सरकारको स्वामित्वबाट नेप्सेलाई बाहिर लैजाने भन्ने नै हो,’ पराजुलीले भने।

उनले पहिलो वित्तीय क्षेत्र विकास रणनीतिमा पनि नेपाल राष्ट्र बैंक र नेपाल सरकारको स्वामित्वमा रहेको नेप्सेको सेयर विनिवेस गर्ने भनेर आएको र जे भने पनि अन्तिममा कार्यान्वयमा जाँदा हुने भनेको निजीकरण नै रहेको उनले जानकारी दिए ।