
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मंगलबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमताल विस्फोटबाटै भएको प्रारम्भिक निष्कर्षमा पुगेको छ ।
यस सम्बन्धमा चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको र आगामी दिनमा भू-उपग्रह मार्फत प्राप्त हुन सक्ने अन्य तस्विरहरुले समेत थप पुष्ट्याइँ दिन सक्ने विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले के भन्यो?

चित्र १ (क) मा मिति २०८२-०३-२१ मा लिइएको र चित्र १ (ख) मा मिति २०८२-०३-२४ दिनको १०:४५ मा लिइएको सेन्टिनल- २ तस्विरबाट निकालिएको नर्मलाइज्ड डिफरेन्स वाटर इन्डेक्स (एनडीडब्ल्यूआई) तस्विर देखाइएको छ ।

चित्रमा देखाइएको स्थान रसुवागढी स्थित नेपाल-चीन सीमाबाट करीब ३६ किलोमिटर माथि (अक्षांश:२८.४०४३, देशान्तरः ८५.६४६९, समुद्रि सतहबाट करिब ५१५० मि. उचाई) ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा पर्दछ ।
चित्र १ (क) अध्ययन गर्दा हिमनदीको करिब बीच भूभागमा विकास भएको सुप्राग्लेसियर लेक्स (हिमताल )करिव ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ ।
दोस्रो चित्रमा भने उक्त हिमतालको क्षेत्रफल करिब ०.६० वर्ग किलोमिटर मात्र देखिएको छ । बाढीको घटना हुनुपूर्व र घटना भइसकेपछिको यी दुई चित्रको तुलनात्मक अध्ययनले तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएको छ । चित्रमा गोलो घेरामा देखाइएको हिमतालको सतही स्वरुपमा उल्लेख्य परिवर्तन देख्न सकिन्छ । यसैगरी तालबाट तलको क्षेत्रमा समेत दोस्रो चित्रमा उल्लेख्य परिवर्तन देखिएको छ । उपरोक्त विवरणहरुले उक्त समयावधीमा तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलको क्षेत्रमा परेको देखिएको छ ।
चित्र १ (ख): बाढी पछिको तस्विर (जुलाइ ८, २०२५)
चित्र १ (क): बाढी अघिको तस्विर (जुलाइ ५, २०२५)








प्रतिक्रिया