
एजेन्सी । विश्वकै सस्तो ऋण लागतले चिनियाँ मुद्रा युआनलाई ऋण परिचालनका लागि आकर्षक बनाएसँगै विदेशी सरकारहरू, वाल स्ट्रिटका बैंकहरू र बहुराष्ट्रिय कम्पनीहरू चीनको आन्तरिक ऋणपत्र (बोन्ड) बजारमा आकर्षित भइरहेका छन् ।
युआनमा आधारित यी ऋणपत्रहरूलाई पान्डा बोन्ड पनि भनिन्छ । यो विदेशी निष्काशनकर्ताहरूले चीनको आन्तरिक बजारमा बिक्री गर्छन् । चिनियाँ र पश्चिमी ब्याजदरबीचको अन्तर बढ्दै जाँदा आफ्नो मुद्रालाई अन्तर्राष्ट्रियकरण गर्ने बेइजिङको अभियानबाट यसले ठूलो लाभ उठाएको छ ।
यस वर्ष ऋणपत्र निष्काशनको गति तीव्र बनेको छ । त्यसमा कजाकस्तान र पाकिस्तान जस्ता सार्वभौम ऋणदाताहरूका साथै मोर्गन स्ट्यान्ली र ड्युचे बैंक जस्ता विश्वव्यापी वित्तीय संस्थाहरू र फक्सवागन र हेन्केल जस्ता बहुराष्ट्रिय कम्पनीहरू सामेल भएका छन् ।
ड्युचे बैंकले भर्खरै मे महिनाको अन्त्यमा तीन र पाँच वर्षे पान्डा बोन्डमार्फत ३.५ अर्ब युआन उठाएको घोषणा गरेको थियो । त्यसमा मागभन्दा धेरै निवेदन परेका थिए ।
मूडीजका अनुसार, हालका वर्षहरूमा पान्डा बोन्डको निष्काशन सुदृढ रहेको छ । यसको निष्काशन परिमाण सन् २०२४ मा कीर्तिमानी १९७.८ अर्ब युआन पुगेको थियो भने सन् २०२५ मा कुल १८३.१ अर्ब युआन रहेको थियो । जुनको दोस्रो हप्तासम्म निष्काशन १३७.१ अर्ब युआन नाघिसकेको छ जुन अघिल्लो वर्षको तुलनामा ८०.४ प्रतिशतले बढी हो ।
फारईस्ट क्रेडिट रेटिङका अनुसार, मे महिनामा पान्डा बोन्डको निष्काशन २६.६४ अर्ब युआन पुगेको छ । त्यो उक्त महिनाका लागि अहिलेसम्मकै उच्च हो ।
यसको आकर्षण सीधा छः चीनमा पैसा सस्तो छ ।
अमेरिकी फेडरल रिजर्भले ब्याजदर उच्च राखेका कारण डलर बजारमा ऋणको लागत महँगो भए पनि चीनको लामो आर्थिक मन्दी र लचिलो मौद्रिक नीतिले त्यहाँको आन्तरिक ब्याजदर ऐतिहासिक न्यून विन्दु नजिक पुगेको छ । विश्लेषकहरूले धेरै विदेशी निष्काशनकर्ताहरूले ३ प्रतिशतभन्दा कम ब्याजदर (कुपन) मा युआन फन्डिङ जुटाउन सक्ने अनुमान गरेका छन् जुन डलरमा लिइने ऋणभन्दा निकै सस्तो हो ।
मूडीज रेटिङ्सले सीएनबीसीलाई पठाएको इमेलमा भनेको छ, ‘हामीले यसको मुख्य चालक ब्याजदरको अन्तरलाई मानेका छौं । अमेरिकी डलरको तुलनामा आरएमबी (युआन) मा फन्डिङ धेरै सस्तो छ ।’
वित्तीय जोखिम मूल्यांकन समूहका अनुसार, पान्डा बोन्ड निष्काशन गर्ने विदेशी बैंकहरूले करिब १.७ देखि २.२ प्रतिशतमा ऋण लिन सक्छन् जबकि डलर बजारमा यो दर ४.५ देखि ५.५ प्रतिशत छ । यसबाट २ देखि ३ प्रतिशत विन्दुसम्म ब्याज बचत हुन्छ ।
लागतको यस फाइदाले प्रभावकारी रूपमा युआनलाई फन्डिङ मुद्रामा परिणत गरेको छ जसले दशकौंसम्म विश्वव्यापी वित्त बजारमा जापानी येनले खेलेको भूमिकाको सम्झना गराउँछ । न्याटिक्सिसकी एसिया–प्रशान्त क्षेत्रकी मुख्य अर्थशास्त्री एलिसिया गार्सिया हेररो भन्छिन्, ‘यो मूलतः पुरानो येनको अवधारणा जस्तै हो । यो सस्तो फन्डिङ हो ।’
मूडीजको अनुमान अनुसार, यस वर्ष पान्डा बोन्ड निष्काशनको कुल परिमाणमा विदेशी निष्काशनकर्ताहरूको हिस्सा झण्डै आधा छ । यो केही वर्षअघिको तुलनामा निकै बढी हो । यसमा वित्तीय संस्थाहरूको वर्चस्व छ । त्यसपछि सार्वभौम र सुप्रानेशनल ऋणदाताहरू आउँछन् भने चीनमा ठूलो व्यवसाय भएका बहुराष्ट्रिय कम्पनीहरूले पनि यस बजारको प्रयोग बढाइरहेका छन् ।
युरेसिया ग्रुपका चीन निर्देशक ड्यान वाङ भन्छन्, ‘अन्तर्राष्ट्रिय व्यापारिक राफसाफमा युआनको बढ्दो प्रयोगलाई सहयोग पुर्याउन वाल स्ट्रिटका बैंकहरूले आरएमबी (युआन) ऋण बढाइरहेका छन् । चीनसँग जोडिएका ग्राहकहरूका लागि मुख्य सम्बन्ध बैंक र मार्केट मेकरको रूपमा रहिरहन बैंकहरूलाई ठूलो मात्रामा आरएमबी दायित्व र आरएमबी सम्पत्ति होल्डिङ आवश्यक पर्छ ।’
कम ब्याजदरले मात्रै निष्काशनमा आएको हालको उछाललाई स्पष्ट पार्दैन । वर्षौंसम्म पान्डा बोन्डमा विदेशीहरूको चासो मुख्य बाधाका रूपमा रहेको पुँजी नियन्त्रणका कारण सीमित थियो । निष्काशनकर्ताहरूले चीनभित्र युआन उठाउन सक्थे तर त्यस रकमलाई मुख्यभूमि बाहिर लैजान प्रायः झन्झटिलो हुन्थ्यो र नियामक अनिश्चितताको सामना गर्नुपर्थ्यो ।
यसले पान्डा बोन्डलाई मुख्यतया चीनभित्र ठूलो सञ्चालन भएका कम्पनीहरूका लागि मात्र आकर्षक बनाएको थियो ।
विज्ञहरूका अनुसार, अहिले परिवर्तन भएको कुरा चाहिँ बेइजिङले उक्त रकम कसरी प्रयोग गर्ने भन्ने विषयमा बढी लचकता अपनाउन देखाएको तत्परता हो । न्याटिक्सिसकी हेररोले प्रतिबन्धहरूमा गरिएको खुकुलोपनाले नीतिगत सोचमा महत्त्वपूर्ण परिवर्तन आएको बताइन् ।
उनले भनिन्, ‘पहिले चीनले पुँजी बाहिर लैजान अनुमति दिँदैनथ्यो । तर, अहिले चीन तयार छ । चीन वास्तवमै आफ्नो मुद्रालाई अन्तर्राष्ट्रियकरण गर्न चाहन्छ ।’
यो नीतिगत परिवर्तन कजाकस्तान र पाकिस्तान जस्ता सार्वभौम ऋणदाताहरूका लागि विशेष महत्त्वपूर्ण छ । उनीहरूलाई प्राप्त रकम चीन बाहिर प्रयोग गर्न नपाएसम्म युआन उठाउनुको खासै अर्थ हुँदैन ।
बेइजिङको प्रतिबद्धताको पछिल्लो संकेत बुधबार देखियो जब पिपुल्स बैंक अफ चाइनाका गभर्नर पान गोङसेङले विदेशी केन्द्रीय बैंक र सार्वभौम सम्पत्ति कोषहरूलाई चिनियाँ बोन्डलाई धितो राखेर युआन तरलतामा पहुँच पुर्याउन दिने नयाँ उपायहरूको घोषणा गरे ।
यसले अफशोर आरएमबी प्रयोगलाई समर्थन गर्ने पूर्वाधारलाई थप बलियो बनाएको छ ।
जी–बेन एडभाइजर्सका संस्थापक पिटर अलेक्जेन्डरका अनुसार, पान्डा बोन्डलाई स्विफ्ट मेसेजिङ नेटवर्कको विकल्पको रूपमा चीनले आफ्नो क्रस–बोर्डर इन्टरबैंक पेमेन्ट सिस्टम विस्तार गर्न गरेको प्रयाससँगै हेरिनुपर्छ ।
यसले वस्तु व्यापारको राफसाफ युआनमा गर्न प्रोत्साहित गर्दै अफशोर आरएमबी बजारलाई अझ गहिरो बनाउनेछ ।
अलेक्जेन्डरले भने, ‘विगत दुई वर्षदेखि सम्पूर्ण पान्डा बोन्ड बजार बिस्तारै विकास भइरहेको छ । आरएमबीलाई अन्तर्राष्ट्रियकरण गर्ने बेइजिङको रणनीतिको अभिन्न अंगका रूपमा यसलाई हेरिनुपर्छ ।’
यो गति छिट्टै सुस्त हुने अपेक्षा कमैले गरेका छन् । विश्लेषकहरूले चीनको बैंकिङ प्रणालीमा रहेको प्रशस्त तरलता, अमेरिकी ब्याजदर तुलनात्मक रूपमा उच्च रहने अपेक्षा र बेइजिङको निरन्तर नीतिगत समर्थनलाई यस वर्षको बाँकी अवधिभर निष्काशनलाई सहयोग पुर्याउने कारकका रूपमा औंल्याएका छन् ।
विश्लेषकहरूका अनुसार, ब्याजदरको अन्तरमा आउने तीव्र कमी, युआनमा आउने ठूलो उतारचढाव वा चिनियाँ नियामकहरूले लिने अप्रत्याशित नीतिगत परिवर्तन यसका मुख्य जोखिमहरू हुन् ।






प्रतिक्रिया