
सिन्धुपाल्चोक । नेपाल–चीन जोड्ने प्रमुख नाका तातोपानी पुग्ने कोदारी राजमार्ग पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ।
भोटेकोशी गाउँपालिका–२ स्थित इकु भन्ने स्थानमा बिहीबार बिहान ५ बजे खसेको पहिरोले अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
माथिबाट पहिरो खसेको र सडक तलपट्टि भोटेकोशी नदीले कटान गरेकाले सडक पूर्ण रूपमा भासिएको छ । तलपट्टि माटो थेग्ने पर्खाल नहुँदा सडक खुलाउन समस्या भएको प्रशासनको भनाइ छ ।
सडक बन्द भएपछि तातोपानी नाका हुँदै काठमाडौं जान लागेका मालबाहक कन्टेनरहरू भन्सार क्षेत्रमै रोकिएका छन्। त्यस्तै यात्रुबाहक बस, एम्बुलेन्स र अन्य सवारीसाधन समेत बीच बाटोमै रोकिएका छन् ।
रसुवास्थित केरुङ नाका मंगलबार बिहानको भीषण बाढीपछि नेपाल चीनबीचको मितेरी पुल बगाउँदा बन्द अवस्थामा छन् ।
तातोपानी सडकमा पहिरो गएसँगै चीनसँगको दुबै नाका केरुङ र तातोपानी पूर्णरूपमा विच्छेद भएको छ ।








प्रतिक्रिया