
काठमाडौं । चक्रपथ विस्तारका लागि दोस्रो खण्डको सर्भे सम्पन्न भएको छ । चिनियाँ प्राविधिक टोलीले साढे करिब दुई महिनाको समय लगाएर दोस्रो खण्डको सर्भे सम्पन्न गरेको हो ।
सर्भे गर्न चिनियाँ प्राविधिक टोली वैशाख ६ गते नेपाल आइपुगेका थिए । सर्भे प्रक्रियामा चिनियाँ सरकारी कम्पनी सीसीसीसी फस्ट हाइवे कन्सल्टेन्ट्स र सिआन फाङ्चौ इन्जिनियरिङ कन्सल्टिङका १८ जना प्राविधिक सहभागी भएका थिए ।
यो टोलीले कलंकीदेखि बसुन्धारा कल्भर्टसम्मको ८.२ किलोमिटर क्षेत्रमा सर्भे प्रक्रिया सम्पन्न गरेको छ । सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनप्रसाद अर्यालका अनुसार प्राविधिक टोली चीन फर्केको ३ महिनापछि दोस्रो खण्डको डिजाइन रिपोर्ट आउनेछ ।
डिजाइन रिपोर्ट आएपछि यो सडक खण्डको लागत खर्च आउने अर्यालले जानकारी दिए ।
दोस्रो खण्डको सर्भे डिजाइन प्राप्त भएपछि उक्त डिजाइनमा आवश्यकताअनुसार भौतिक पूर्वाधारका संरचना थपघट गरिनेछ । यसका लागि एक महिनाका अवधि लाग्ने अर्यालले जानकारी दिए ।
थपघट गरी अन्तिम रुप दिइने डिजाइन स्वीकृत भएपछि ठेक्का प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।
उनका अनुसार ठेक्का प्रक्रिया आगामी पाँच महिनाभित्रमा आह्वान गर्ने गरी गृहकार्य भइरहेको छ । यो ठेक्का प्रक्रिया पनि चीन सरकारले आह्वान गर्ने हो । ठेक्का प्रक्रियाबाट उतैबाट निर्माण कम्पनी छनोट हुनेछ ।
‘सर्भेको क्रममा कुन स्थानमा अत्यधिक सडक जाम हुन्छ, त्यसलाई बैज्ञानिक रुपमा अध्ययन गरिएको छ,’ अर्यालयले भने,‘अहिलेसम्म बालाजुको माछापोखरी चोकमा अत्यधिक जाम हुने देखिएकाले त्यो स्थानमा फ्लाइओभर निर्माण गर्नुपर्ने विषय टुङ्गिएको छ । यसबाहेक डिजाइनमा कुन कुन स्थानमा सार्वजनिक सवारी साधन रोक्न मिल्छ, ति विषयलाई पनि डिजाइनमा राखिएको छ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकालका अनुसार वनस्थली नजिकको ढुंगेधारामा कल्भर्टको ठाउँमा पुल बनाउन डिजाइनमार्फत प्रस्ताव अघि सारिएको छ ।
ढकालकाअनुसार दायाँ–बायाँबाट क्रसिङ गर्न मिल्ने गरी बाटो निकाल्ने गरी पुलको लम्बाइ कायम गर्न सर्भे टोलीलाई आग्रह गरिएको छ ।
ढकालका अनुसार सर्भेअनुसार तयार भएको डिजाइनअनुसार कलंकीदेखि सीतापाइलासम्मको चारलेन र सीतापाइलादेखि चक्रपथ खण्डको दुई लेनलाई बिस्तार गरी सर्भिस लेनबाहेक आठ लेनको सडक बिस्तार गरिनेछ ।
चीनको आर्थिक तथा प्राविधिक सहयोगमा कोटेश्वर–कलंकी पहिलो खण्ड २०६९ मा सुरु भएर २०७५ सालमा सम्पन्न भएको थियो ।
मन्त्रालयका अनसार कलंकीदेखि बसुन्धारा कल्भर्टसम्मको विस्तार र सडक निर्माणसम्बन्धमा चीनसँग सन् २०१८ मा जीटूजी सम्झौता भएको थियो । यो सम्झौताअनुसार चीन सरकारको अनुदानमा अहिले विस्तार गर्ने कार्यलाई अघि बढाइएको हो ।
यो विषयमा २०८१ भदौ ६ गते नेपाल र चीन सरकारबीच सहयोग सम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो।

उता चक्रपथ तेस्रो खण्ड विस्तारअन्तर्गत नारायणगोपाल चोकबाट चप्पल कारखाना खण्डको निर्माण प्रक्रिया सुस्त बन्दै गएको छ । चालु असार महिनाभित्रै काम सक्ने लक्ष्य राखिए पनि हालसम्म ३५ प्रतिशत प्रगति भएको छ ।
सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार एकतर्फी सडक कालोपत्र गर्न बेस र सब बेस राख्ने काम भइरहेको छ। अहिले यो खण्डमा नाला, कल्भर्ट र वाल निर्माणको काम भइरहेको छ।










प्रतिक्रिया