चीनबाट आएको बाढीले रसुवा क्षति: पुल बगाउँदा चीनसँग सम्पर्क विच्छेद

336
Shares

काठमाडौं । चीनतर्फबाट आएको आकस्मिक बाढीले रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । आइतबार बिहान करिब ३ बजे आएको बाढीले पुलसहित आसपासको संरचनामा ठूलो क्षति पुर्‍याएको रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अर्जुन पौडेलले जानकारी दिए ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढी भन्सार क्षेत्र (ड्राइपोर्ट) समेत क्षतिग्रस्त भएको छ । भन्सार यार्डमा जाँचपासका लागि राखिएका विद्युतीय (ईभी) सवारीसाधनहरू बगाएको उनको भनाइ छ ।

सीडीओ पौडेलले बाढीले मितेरी पुल बगाउँदा नेपाल–चीनबीचको सडक सम्पर्क विच्छेद भएको र भन्सार र्‍याडमा राखिएका विद्युतीय सवारी साधनसमेत बगेको बताए ।

‘चीनसँगको सम्पर्क अहिले पूर्ण रूपमा टुटेको छ । पुलसँगै भन्सार यार्डमा राखिएका सबै ईभी गाडी बगाएका छन्,’ उनले भने ।
बाढीपछिको स्थिति मूल्याङ्कनका लागि जिल्ला प्रशासन, प्रहरी र नेपाली सेनाबीच समन्वय भइरहेको उनले बताए ।

हाल १२ जनाको प्रहरी टोली बाढीग्रस्त क्षेत्रमा पुगे पनि पानीको सतह नघटेकाले उद्धार कार्यमा कठिनाइ भएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार प्रयास सुरु गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रसुवागढी जलविद्युत आयोजनाको संरचनामा समेत बाढीले क्षति पुर्‍याएको छ।

बाढीमा परि केही वेपत्ता भएको उनले बताए । ‘केहीको उद्धार गरिएको छ,’ उनले भने, ‘केही भने वेपत्ता भएको आशंका छ ।’

उक्त क्षेत्रमा कामदारहरु, सवारी चालकहरु लगायत हुने गरेका छन् ।