पर्यटन सहकारी जनशक्ति विकास तालिम सम्पन्न


काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेड ललितपुर र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित “पर्यटन सहकारी संस्थाका जनशक्तिको क्षमता विकाससम्बन्धी तालिम तथा गोष्ठी २०८२” आइतबार सम्पन्न भएको छ।

भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले उद्घाटन गरेको दुई दिने तालिममा करिब १५० जना सहकारीकर्मी सहभागी भएका थिए। कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमाले सहकारी विभाग प्रमुख खगराज अधिकारी, माओवादी केन्द्रका सहकारी विभाग प्रमुख लिलामणि पोखरेल, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डि.बी. बस्नेत, सहकारी विभागका उप–रजिस्ट्रार शशि कुमार लम्साल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेलगायतको उपस्थिति थियो।

यस अवसरमा मन्त्री अधिकारीले सहकारी क्षेत्र सुधारका लागि सहकारीकर्मीहरूसँग ठोस सुझाव माग्दै प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए। राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष बस्नेतले केही सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि नियमन र अनुगमन कडाइका साथ गर्नुपर्नेमा जोड दिए। माग पुरा नभए सहकारीका चाबी सरकारलाई बुझाउने चेतावनीसमेत उनले दिए।

संघका अध्यक्ष चन्द्र प्रसाद रिजालले सहकारीमा गलत नियत र राजनीतिक हस्तक्षेपका कारण विकृति देखिएको बताउँदै सिद्धान्तअनुसार सहकारी सञ्चालन गर्नुपर्ने धारणा राखे।

“मर्यादित सहकारी, समुन्नत समाज” नाराका साथ १०३औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरिएको तालिमले पर्यटन सहकारीका नेतृत्वदायी जनशक्ति तथा क्षमता विकासमार्फत स्थानीय गन्तव्यको पहिचान, पर्यटन प्रवर्द्धन र सामुदायिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको संघले जनाएको छ।