
काठमाडौं । इन्जिन मर्मतको तयारी टेन्डर प्रक्रियामै रहेके र प्रतिस्पर्धा बिना वाइडबडीको इन्जिन मर्मत गर्न दिने सम्झौता नभएको दाबी नेपाल वायुसेवा निगमले गरेको छ ।
निगमले वाइडबडी जहाजका इन्जिन मर्मत प्रक्रियामा अनियमितता भएको भन्ने आशयका समाचार भ्रामक, तथ्यहीन र कपोलकल्पित भएको जनाएको छ। निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो समाचारले संस्थाको साखमा आँच पुर्याउने नियत राखेको भन्दै आपत्ति प्रकट गरेको हो।
निगमका अनुसार सञ्चालनमा रहेका दुईवटा वाइडबडी विमानका चारवटै इन्जिन निकट भविष्यमा मर्मत गर्नुपर्ने भएकाले आवश्यक तयारीस्वरूप मिति २०८१ फागुन १० गते महेशकुमार मरिताको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो।
रोयल्सरोयद्वारा उत्पादित इन्जिनको जटिल मर्मत कार्य पहिलोपटक हुन लागेको हुँदा प्राविधिक पक्ष, लागत, समय व्यवस्थापन तथा बजारका विषयमा पर्याप्त जानकारी संकलन गर्न निगमको टोली २०२५ अप्रिल २९ मा सिंगापुर गएको निगमले स्पष्ट पारेको छ। अन्तर्राष्ट्रिय प्रचलनअनुसार छलफल अघि बढाउन गैर-प्रकटीकरण सम्झौता गरिएको र कुनै पनि गोप्य सम्झौता नभएको निगमको दाबी छ।
त्यस क्रममा सिड्नी गन्तव्यका लागि सिंगापुरमार्फत प्रविधिक अवतरण र यात्रु सेवा व्यवस्थापनसम्बन्धी विषयमा पनि चाँगी विमानस्थलका निकायहरूसँग छलफल भएको जनाइएको छ। भ्रमण टोलीमा बजार व्यवस्थापन विभागका निर्देशक र वरिष्ठ कानुनी सल्लाहकारसमेत सहभागी रहेको निगमले जानकारी गराएको छ।
रोयल्सरोयसँगको छलफलमा मर्मतका जटिल प्राविधिक पक्ष, सतर्कता र प्रक्रियाबारे विस्तृत जानकारी प्राप्त भएको र आवश्यक सहयोग गर्ने प्रतिबद्धता आएको निगमको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, “इन्जिन मर्मतजस्तो ठूलो लगानीको प्राविधिक कार्य पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट गर्नुपर्ने भएकाले हाल उपसमिति टेन्डर दस्तावेज अन्तिम तयारीमा जुटिरहेको छ।”
निगमले यस्ता संवेदनशील विषयलाई तोडमरोड गरी सार्वजनिक गरिएका समाचारबाट भ्रमित नहुन आम नागरिक तथा सरोकारवालासमक्ष अपिल गरेको छ।










प्रतिक्रिया