ठेकेदारसँग आर्थिक अभावको समस्या देखियो, सुनकोशी मरिण डाइभर्सको ठेक्का तोडिँदैन: मन्त्री खड्का


काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का नतोडिने भएको छ ।

सञ्चारमाध्यमहरुमा सुनकोसी मरिण डाइभर्सनको ठेक्का तोड्न लागेको समाचारहरु आइरहेका बेलामा सरकारले तत्काल ठेक्का नतोडिने बताएको हो ।

आइतवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ३१ महिना काम भइसकेको र २ वर्ष जति समय बाँकी रहेको बताए ।

कुल १५ प्रतिशत काम पूरा भएको ठेकेदारको दाबी रहेको उनको भनाइ छ । बाँध र विद्युत गृह निर्माणको ठेक्का पाएको भारतीय कम्पनी पटेल र नेपाली रमण कन्स्ट्रक्सनको जोइन्ट भेन्चरसँगको ठेक्का सम्झौता तोड्दा अहिले सरकारलाई नै नोक्सानहुने स्थिति रहेको र एक पटकलाई मौका दिएर हेर्नेगरी सरकार अघि बढेको उनको भनाइ छ ।

काम नभएको खण्डमा ठेक्का तोड्ने काम सरकारले जहिले पनि गर्नसक्ने बताए । निमित्त प्रमुखको भरमा आयेजना सञ्चालन भइरहेको भए पनि छिटै सरकारले सहसचिव तहको कर्मचारी पठाउने उनले बताए ।

फाउण्डेशन तयार भइसकेपछि नदीले बगाएको र पुनः फाउण्डेशन तयार भएको अवस्था रहेको उनको भनाइ छ । खर्च पनि भइसकेको र ठेकेदारसँग आर्थिक अभावको समस्या देखिएको उनले बताए । बाढीको इन्स्योरेन्स पनि नपाएको, भएको पैसा विभिन्न शिर्षकमा खर्च गरेको, पुलहरु बगाउँदा र मेटेरियल लैजान नसकेको ठेकेदारले गुनासो गरेको बताए ।

ठेकेदारले समय थप मागेको र काम पूरा गर्ने प्रतिवद्धता जनाएको एवं बैंकहरुले पनि थप ऋण उपलब्ध गराउने प्रतिवद्धता जनाएको उनको भनाइ छ । ठेक्का तत्काल तोड्दा ३९ प्रतिशत बिलोमा ठेक्का लिएको र अर्को १५ देखि २० प्रतिशत थप नगरी अहिलेको समयलाई मेल नखाने र अब भइरहेको आयोजनामा ५० देखि ६० प्रतिशत थपेर ठेक्का लगाउन नसकिने स्थिति रहेको उनको भनाइ छ ।

सबै ठेक्काको प्रक्रिया हेर्दा एक वर्षमा अर्को ठेक्का लाग्न नसक्ने स्थिति रहेको उनको भनाइ छ ।