फिस्कल पोलिसिले अर्थतन्त्रको नेतृत्व गर्नुपर्छ: गभर्नर


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रको समग्र सुधारका लागि वित्त नीतिले अग्रसरता लिनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनको विषयमा आयोजित छलफलमा गभर्नर पौडेलले वित्त र मौद्रिक नीतिबीच सहकार्यको खाँचो औंल्याएका हुन् ।

‘फिस्कल पोलिसीले अर्थतन्त्रको नेतृत्व गर्ने नयाँ कुरा होइन, मौद्रिक नीतिले त्यसमा साथ दिने हो,’ उनले भने ।

पछिल्लो केही वर्ष यता सरकारको सार्वजनिक ऋण उल्लेख्य रूपमा बढेको तर राजस्व सोअनुसार बढ्न नसकेको उनले बताए।

गभर्नरले आर्थिक प्रणालीमा ऋण प्रवाहको संरचना सन्तुलित हुनुपर्नेमा जोड दिए । ‘जिडिपी र मुद्रास्फीति हेरेर मात्रै नीतिनिर्माण गर्दा केही व्यक्ति वा समूहले मात्र ऋणको फाइदा उठाउँछन्,’ उनले भने, ‘ऋण दिएपछि मात्रै त्यो व्यक्ति सम्पन्न हुन्छ भन्ने ग्यारेन्टी हुँदैन।’

उनले अर्थतन्त्रलाई वन्यजन्तु संरचना सँग तुलना गर्दै भने, ‘वर्दियामा बाघ बढाउन खोजियो भने हरिण र मृगको संख्या पनि बढ्नुपर्छ,’ उनले भने, ‘साना व्यवसाय, कृषि र एमएसएमई (सूक्ष्म, साना तथा मझौला उद्योग) विस्तार गरेपछि ठूला व्यवसाय पनि स्वतः बढ्छन् ।’

गभर्नर पौडेलले कृषिमा ऋण प्रवाह गर्दा सावधानी अपनाउनुपर्ने बताए । ‘कृषकलाई अनावश्यक ऋण दिँदा उसको व्यवसाय नै बन्द हुने खतरा रहन्छ,’ उनले भने ।

उनले अहिलेको आवश्यकता केही यस्ता नीतिहरूमा भएको बताए ।

‘केही यस्ता नीति अहिले चाहिएको छ, जसमा राज्यले बाटो देखाउने भूमिका निर्वाह गरोस्,’ गभर्नर पौडेलले भने ।