
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा चम्पादेवी केबलकार बन्ने भएको छ । चम्पादेवी इको फ्रेण्डली कम्पनी प्रालिले कीर्तिपुर नगरपालिकाको वडा नं ४ मा चम्पादेवी केबलकार बनाउने भएको हो ।
कम्पनीले वन तथा वातावरण मन्त्रालयलाई वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी पेस गरेको छ । कम्पनीले माथिल्लो स्टेसन कीर्तिपुर नगरपालिकाको वडा नं ४ मा हुनेछ भने तल्लो स्टेशन दक्षिणकाली नगरपालिका वडा नं १ मा निर्माण हुने गरी प्रस्ताव पेश गरेको छ ।
कम्पनीले सो स्थानमा २.०७५ किलोमिटर लम्बाइको केबलकार बनाउने जनाएको छ । उक्त केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् भने प्रतिगोन्डोलाको क्षमता १० जना रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । दैनिक ५ हजार यात्रुलाई सेवा दिने लक्ष राखिएको प्रतिवदनमा जनाइएको छ ।
कम्पनीअनुसार एकतर्फी यात्राका लागि ७.०१ मिनेट लाग्नेछ । केबलकारमा २ वटा टावरको व्यवस्था हुनेछ । कम्पनीको प्रतिवेदनअनुसार तल्लो स्टशन ५ हजार ९७५ वर्गमिटर क्षेत्रफलमा फैलिनेछ ।

उक्त क्षेत्रमा प्रवेशद्वार, मुख्य भवन, दुई पांग्रे तथा चार पांग्रे पार्किङ, पम्प हाउस, पानी ट्यांकीको व्यवस्था हुनेछ। तल्लो स्टेशनमा मुख्य भवन ३ वटा हुनेछ ।
भुई तल्लामा टिकट काउन्टर, लाइन लाग्ने क्षेत्र, केबलकार चढ्ने र ओरल्ने क्षेत्र, केबलकार पार्किङ, अपरेटर रुम, शौचालय, विश्राम कक्ष हुनेछ । त्यस्तै, माथिल्लो बेसमेन्टमा कार्यालय क्षेत्र, स्टाफ क्यान्टिन, स्टोर र मेडिकल हुनेछ । तल्लो बेसमेन्टमा मेकानिकल रुम, जेनेरेटर रुम र बिजुली रुम हुनेछ ।
त्यसैगरी स्टेशनमा दुई पांग्रे ४ सय र चार पांग्रे २ सय वटा पार्किङमा अट्ने उल्लेख गरेको छ । पार्किङ एक हेक्टर क्षेत्रफलमा फैलिनेछ ।
त्यस्तै, माथिल्लो स्टेशन १.८० हेक्टर क्षेत्रफलमा फैलिनेछ । माथिल्लो स्टेशनमा आरसीसी भवन दुई तल्लाको हुनेछ । सेमी बेसमेन्टमा स्टाफ क्यान्टिन हुनेछ भने भुई तल्लामा केबलकार उत्रने र चढ्ने क्षेत्र, अपरेटर रुम, रोपवेसँग सम्बन्धित उपकरणहरु सञ्चय क्षेत्र, पर्यटक सुचना केन्द्र, जलपान र टिकट काट्ने ठाउँ हुनेछ ।
माथिल्लो स्टेशनमा मनोरञ्जन भवनको सुविधा हुनेछ । दुई तल्लाको बन्ने मनोरञ्जन भवनको सेमी बेसमेन्टमा इनडोर गेमिङ जोन, साहसिक खेलकुदका सामग्रीहरु र भुई तल्लामा रेष्टुरेन्ट, सम्मेलन हल र भान्साघरको व्यवस्था हुनेछ । भवन ७ हजार ५ सय वर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ ।
कम्पनीले मनोरञ्जन पार्कको पनि व्यवस्था गर्ने प्रतिवेदनमा उल्लेख गरेको छ । उक्त पार्कमा अल्पाइन कोस्टर, रंगीन स्लाइडहरु, डोरी साहसिक कोर्स, जिपलाइन, पिङ, प्रतिक्षालय, बाल उद्यानहरु, विश्राम क्षेत्र र एम्फीथिएटर, साहसिक खेलकुदका सामग्रीहरुको सुविधा हुनेछ । कम्पनीले ०.४ हेक्टर क्षेत्रफलमा मन्दिर बनाउने भएको छ ।
प्रस्तावित प्रतिवेदनअनुसार केबलकार आयोजना निर्माण गर्न ५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । कम्पनीले केबलकारमा प्रतिदिन ५ हजार पर्यटक आउने उल्लेख गरेको छ । साथै, कम्पनीले २ वर्षमा निर्माण सम्पन्न गर्ने योजना बनाएको छ ।

परियोजनाले कुल ५ हेक्टर वन क्षेत्र उपयोग गर्नेछ, जसमा सेतो लालीगुराँस, बाँझ, अिंगेरी, लगायतका वनस्पति र चराचुरुङ्गीको आवासस्थल प्रभावित हुने बताइएको छ। यसका लागि रुख फँडानीको सट्टा १० गुणा वृक्षरोपण, वनजन्तु संरक्षण, डस्ट र नाइट्स पोल्युशन नियन्त्रणजस्ता उपाय प्रस्ताव गरिएको छ ।
निर्माण तथा सञ्चालन चरणमा पर्यावरणीय व्यवस्थापनको लागि करिब ६ करोड ६६ लाख रुपैयाँ छुट्याइएको छ। त्यसमध्ये सामाजिक उत्तरदायित्व अन्तर्गत ९१ लाख रुपैयाँ स्थानीय विकास र सेवामा प्रयोग गरिनेछ ।
आयोजनाबाट ३१२ जनालाई स्थायी र ३०० जनालाई अस्थायी रोजगारी सिर्जना हुनेछ। स्थानीयलाई प्राथमिकता दिने व्यवस्था प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै, स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटनजन्य पूर्वाधारको विकास र धार्मिक स्थलहरुको पहुँच सहज बनाउने प्रतिवद्धता उल्लेख गरिएको छ ।
यो केबलकार परियोजनामा विशाल ग्रुप, संघई परिवार र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालको मुख्य लगानी रहने छ ।
प्रतिक्रिया