
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आयोजनामा आगामी असोज १ र २ गते पावर समिट २०२५ आयोजना हुने भएको छ । ‘मिसन २८,५००मेवा: पावरिङ नेपाल, इनर्जिङ रिजन’ भन्ने नारासहित यो सम्मेलन हुने इप्पानले जानकारी दिएको छ ।
नेपालको कुल ३६०२ मेगावाट विद्युत उत्पादन क्षमतामध्ये ८० प्रतिशतभन्दा बढी निजी क्षेत्रबाट उत्पादन भइरहेको पृष्ठभूमिमा यो सम्मेलन आयोजना गर्न लागिएको इप्पानको भनाइ छ । हालसम्म निजी क्षेत्रबाट १३ खर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको र ५० खर्ब बराबरको परियोजना तयारी अवस्थामा रहेको इप्पानले जनाएको छ।
सम्मेलनमा नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षकत्व, नेपालस्थित भारतीय दूतावासको देशीय साझेदारी रहनेछ । यसका साथै ३० भन्दा बढी देशका लगानीकर्ता, कूटनीतिक नियोग, विकास साझेदार, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, विज्ञ, विशेषज्ञ, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहने इप्पानले जनाएको छ।
सम्मेलनको उद्देश्य ऊर्जा मार्गचित्र २०८१ कार्यान्वयनमा सहजीकरण गर्नुका साथै नेपालको बढ्दो ऊर्जा उत्पादनलाई क्षेत्रीय बजारमा व्यापारिक रूपमा विस्तार गर्नु भएको इप्पानले जनाएको छ । सम्मेलनले हरित ऊर्जा, कार्बन व्यापार, ऊर्जा सुरक्षा, क्षेत्रीय सम्पर्क विस्तार, नेट जिरो इमिसन लक्ष्यजस्ता विषयमा गहिरो बहस हुने छ ।
पावर समिट सन् २००६, २००७, २००८, २०१२, २०१३, २०१६, २०१९ र २०२३ पश्चात् आयोजना हुन लागेको नवौं संस्करण हो । यस पटकको समिटमा १ हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ ।
इप्पानले पावर समिटलाई नेपालको दिगो ऊर्जा विकास र क्षेत्रीय ऊर्जा बजारमा नेपालको उपस्थिति मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरेको छ । सम्मेलनमा जलवायु परिवर्तन, पूर्वाधार विकास, ऊर्जा वित्तीयकरण तथा अन्तरदेशीय सहकार्यका विविध आयाममा ठोस सुझाव र रणनीति तय हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया