आर्थिक वर्ष सकिन लाग्दा एकै महिनामा साढे ४ अर्ब रकमान्तर, फास्ट ट्रयाकले खर्चन सकेन सवा अर्ब

140
Shares

काठमाडौं । सरकारले आर्थिक वर्ष सकिन २ महिना मात्रै बाँकी हुँदा विभिन्न ४३ वटा निकायलाई ४ अर्ब ४० करोड ८५ लाख रुपैयाँ बजेट रकमान्तर गरेको छ । एउटा आयोजनाको रकम अर्कोमा सारिएको यस्तो कामका लागि सबैभन्दा बढी विकासे मन्त्रालय अन्तर्गतको आयोजनाका लागि छन् ।

रकमान्तर भएका बजेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै २० वटा आयोजना छन् । शहरी विकास मन्त्रालयका १२ वटा, ऊर्जा मन्त्रालयका ३ आयोजना, खानेपानीका तीन आयोजना, गृहका ४ आयोजना र शिक्षा मन्त्रालयका एउटा आयोजनामा बजेट गएको छ ।

वैशाख महिनसम्ममा सबैभन्दा बढी रकम खर्च गर्न नसक्नेमा काठमाडौं तराई मधेश फास्ट ट्रयाक रहेको छ । नेपाली सेनाले सञ्चालन गरिरहेको यो आयोजनाले बजेट खर्च गर्न नसकेपछि सरकारले यसको १ अर्ब २५ करोड बजेट वैशाखममा मात्रै अन्यन्त्रै पठाइदिएको छ ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तगर्त सबैभन्दा बढी बजेट हुने आयोजनामा पर्ने काठमाडौं तराई मधेश फास्ट ट्रयाकले यो वर्ष खर्च गर्न नसक्ने बजेटलाई सरकारले अर्को खर्च गर्न सक्ने आयोजनामा रकमान्तरण गरेको हो ।

सरकारले आर्थिक वर्ष सकिन लागे पनि कामै नभएको आयोजनाबाट र रकम खर्च गर्न नसक्ने आयोजनाबाट काम भएको र थप बजेट माग गरिएको आयोजनामा बजेट रकमान्तरण गरेर पठाउने गरेको छ ।

वैशाख महिनामा रकमान्तर भएको रकमका आयोजनामा सबैभन्दा धेरै भौतिक मन्त्रालयको काठमाडौं तराई मधेश फास्ट ट्रयाकबाट सुरुङमार्ग विकास कार्यक्रममा ९० करोड रुपैयाँ बजेट रकमान्तर भएको छ । फास्ट ट्र्याककै बजेट २० करोड रुपैयाँ औद्योगिक करिडोर (व्यापारिक मार्ग) विस्तारमा रकमान्तर भएको छ ।

फास्ट ट्र्यायकले खर्च गर्न नसकेपछि यसको १४ करोड रुपैयाँ बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रममा सारिएको छ ।
शहरी विकासको बस्ति विकास कार्यक्रमको बजेट सघन शहरी विकास कार्यक्रममा सारिएको छ ।

यो आयोजनाका लागि १८ करोड ३५ लाख रुपैयाँ रकमान्तर भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको एक तथ्यांकमा उल्लेख छ । यसबाट भौतिक मन्त्रालय अन्तर्गतको मिर्चैया कटारी घुर्मी सडकको बजेटलाई हुलाकी राजमार्ग र यसका पुलमा सारिएको छ । उक्त रकम १५ करोड रुपैयाँको रहेको छ ।

गृह मन्त्रालय अन्तर्गतको जिल्ला प्रहरी कार्यालयको बजेटलाई प्रहरी प्रधान कार्यालयमा रुकमान्तर गरिएको छ । उक्त रकम १५ करोड ७१ लाख रुपैयाँको छ ।