पोखरा विमानस्थलमा निगमले ७५ करोडमा बनायो इन्धन डिपो: ५५ वर्षमा पहिलो पटक स्वदेशी प्रविधिमा निर्माण

2k
Shares

पोखरा । नेपाल आयल निगमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक हवाई इन्धन भण्डारण गृह (डिपो) को निर्माण सम्पन्न गरेको छ । भ्याटबाहेक ७५ करोड लगानीमा ३ हजार ६ सय किलोलिटर क्षमताको ३ वटा ट्यांकसहित निगमले डिपो निर्माण गरेको हो । ती सबै ट्याङ्कीको उचाइ १२ मिटर र व्यास १२ मिटर छ। यस अतिरिक्त, हाइड्रान्ट रिफ्युलिङ प्रणालीसहितको १२ इन्च व्यासको पाइपलाइन समेत जडान गरिएको छ।

विद्यमान उडान सुरक्षालाई ध्यानमा राख्दै अत्याधुनिक मापदण्डअनुसारको नियन्त्रण कक्ष, अफिस, फायर फाइटिङ सिस्टम लगायतका पूर्वाधारको निर्माण गरिएको छ।

पोखरा एयरपोर्ट हवाई इन्धन डिपो परियोजना प्रमुख प्रदीप यादवले निगमको इतिहासमा पहिलो पटक स्वदेशी प्रविधि, स्वदेशी डिजाइन र ठेकेदारको सहयोगमा यो हवाई इन्धन डिपो तयार भएको बताए । यसको विस्तृत परियोजना रिपोर्ट पुलचोक इन्जिनियरिङ संस्थानले बनाएको थियो भने ठेकेदार पनि नेपालकै हो । नेपालमा पहिलो पटक यो डिपो इन्डियन आयल कर्पोरेसनको सहयोगबिना निर्माण भएको सिनामंगल हवाई इन्धन डिपोको प्रमुख समेत रहेका परियोजना प्रमुख यादवले जानकारी दिए ।

विमानस्थल सञ्चालनमा आएसँगै आन्तरिक तथा वाह्य उडान वृद्धि भइरहेका बेला आवश्यक इन्धन आपूर्ति तथा भण्डारणको पूर्वतयारी स्वरूप निगमले पोखरा अन्तराष्ट्रिय विमानस्थलको दक्षिण क्षेत्रको ३२,९१५ वर्गमिटर क्षेत्रफलमा यो हवाई इन्धन डिपो निर्माण भएको हो। यो डिपोमा हालसम्मकै अत्याधुनिक प्रविधि जडान गरिएको छ भने आगलागी हुँदा स्वचालित उपकरणबाट पानीको फोहोरा हालेर निभाउने प्रविधि समेत जडान गरिएको छ । यो डिपो विमानस्थलको जग्गा भाडा लिएर निर्माण गरेको हो।

इन्धन डिपो निर्माणको प्रक्रिया २०७५ सालबाट प्रारम्भ भए पनि विविध प्रशासनिक कारणले गर्दा ढिलो भएको थियो । परियोजना निर्धारित समयभित्र सम्पन्न भएको छ।

तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले २०८० साउन ९ गते यसको सिलान्यास गरेका थिए ।

पुल्चोक इन्जिनियरिङ संस्थानका सहायक डिन डा सुरज लामिछानेले वैदेशिक परामर्शदाता, लगानी, विज्ञबिना सतप्रतिशत नेपाली विज्ञ र लगानीबाट निर्माण भएको जानकारी दिए।

निगमका अधिकारीहरूका अनुसार, अब छिट्टै परीक्षण तथा अन्तिम प्राविधिक प्रमाणीकरणको काम सम्पन्न गरी नयाँ इन्धन डिपो सञ्चालनमा ल्याइनेछ, जसले पोखरा विमानस्थलको उडान सेवामा थप गुणस्तर र क्षमता प्रदान गर्नेछ।

पोखरामा सिजनमा दैनिक १८ हजारदेखि २२ हजार लिटरसम्म इन्धन खपत हुन्छ। पोखराको पुरानो विमानस्थलमा ६४ हजार लिटर क्षमताको मात्रै भण्डारण रहेको थियो। पुरानो विमानस्थलबाट नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा बाउजरमा हवाई इन्धन लगेर निगमले इन्धन व्यवस्थापन गर्दै आएको थियो।

पुरानो विमानस्थलमा रहेको डिपो परिसरमा १६–१६ किलोलिटरका चार वटा हवाई इन्धन भण्डारण गर्ने अन्डर ग्राउन्ड टयांक रहेका छन्। घरेलु विमानस्थलबाट करिब साढे ६ किलोलिटरको दूरीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा घरेलु विमानस्थलकै हवाई इन्धन डिपोबाट डिस्पेन्सरमा ल्याएर बाउजरमा सारेर जहाजमा इन्धन भर्ने काम गर्दै आएको छ।