स्वस्तिक लघुवित्तको आईपीओमा असार २७ गतेदेखि आवेदन दिन पाइने

56
Shares

काठमाडौं । स्वस्तिक लघुवित्तले असार २७ गतदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ ) जारी गर्न लागेको हो ।

स्वस्तिकले जारी पुँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँमध्ये ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँबराबरको २ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्दैछ । जारी हुने आईपीओको १० प्रतिशत अर्थात् २३ हजार १ सय कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन पाउँछन् ।

स्वस्तिकको आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाइन्छ । असार २७ निष्काशन खुला हुने आईपीओमा साउन ९ गतेसम्म आवेदन दिन पाइन्छ । रेटिङ एजेन्सी इक्रा नेपालले स्वस्तिकको आईपीओलाई ‘इक्रा आईआर बी’ रेटिङ दिएको छ । यो रेटिङले समयमै वित्तिय दायित्व पुरा गर्ने सन्दर्भमा उच्च जोखिम रहेको जनाउँछ ।

लघुवित्तले आईपीओ निष्काशन गर्न स्वीकृती पाएको सेयरमध्ये ०.५ प्रतिशतले हुने ११ सय ५५ कित्ता सेयर कर्मचारीलाई छुट्याएको छ । त्यस्तै ५ प्रतिशतले हुने ११ हजार ५ सय ५० कित्ता सामूहिक लगानी कोषहरु (म्युचुअल फन्ड) को लागि छुट्याएको छ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागी छुट्याएको सेयर निष्काशन गरेपछि बाँकी रहेको १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर सर्वसाधारणहरुको लागि निष्काशन हुनेछ ।

लघुवित्तले चालु आर्थिक वर्षको चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा २५ लाख ३८ हजार रुपैयाँ मुनाफा कमाएको छ । त्यस्तै लघुवित्तको सञ्चित मुनाफा ४९ लाख ८६ हजार र जगेडा कोषमा २ करोड ६६ लाख ८४ हजार रुपैयाँ छ ।

चैत मसान्तसम्म प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३३ पैसा रहेको छ भने नेटवर्थ १९१ रुपैयाँ ४० पैसा रहेको छ । ३ वर्षपछि कम्पनीको ईपीएस २६.५० रुपैयाँ तथा नेटवर्थ १९४.१६ रुपैयाँ हुने प्रक्ष्येपण गरिएको आह्वानपत्रमा उल्लेख गरिएको छ ।