
काठमाडौं । विकास हाइड्रोपावरले सर्वसाधारणका लागि (धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले २९ लाख ४२ हजार ७७० कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
बुधबारदेखि खुला भएको कम्पनीको आईपीओमा २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसारको आवेदन नपरेमा आवेदन दिने म्याद असार ३२ गतेसम्म थप हुनेछ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी र सामूहिक कोषको लागि आईपीओ बाँडफाँड गरेपश्चात बाँकी रहेको आईपीओ सर्वसाधरणका लागि खुला गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३ सय रुपैयाँको ४९ प्रतिशतले हुने ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्ने गरी विवरणपत्र स्वीकृत गराएको थियो । जसमध्ये जारी पुँजीको १० प्रतिशतले हुने ९ करोड ९ लाख १० हजार १ सय रुपैयाँको ९ लाख १ हजार १ सय १ कित्ता सेयर स्थानीय बासिन्दाका लागि निष्कासन नगरी बाँडफाँट गरिसकेको छ । त्यस्तै सर्वसाधारणलाई निष्कासन गर्ने जारी पुँजीको ३९ प्रतिशत सेयरको १० प्रतिशतले हुने ३ लाख ५४ हजार ५ सय ५० कित्ता सेयर वैदेशिक रोजगारीका रहेका नेपालीका लागि ७० हजार ९ सय १० कित्ता सेयर कर्मचारीका लागि र सामूहिक लगानी कोषका लागि २९ लाख ४२ हजार कित्ता सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधरणका लागि निष्काशन खुला गरिएको हो ।
२९ लाख ४२ हजार कित्ता आईपीओ १० कित्ताको दरले २ लाख ९४ हजार जनालाई पर्नेछ ।
कम्पनीको आईपीओमा सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँका दरले १० कित्तादेखि १० हजार कित्ता सेयरसम्म आवेदन दिन पाउनेछन् ।
कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर ट्रिपल बी माइनस’ रेटिङ दिएको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्ने सन्दर्भमा मध्यम जोखिम रहेको संकत गर्दछ ।
कम्पनीले गोरखा जिल्लाको माछाखोलामा ४.५५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको कुल लागत निमार्ण अवधिको ब्याज समेत १ अर्ब ११ करोड ८२ लाख ४६ हजार ३७७ रुपैयाँ र प्रतिमेगावाट लागत २४ करोड ५७ लाख ६८ हजार ४३५ रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ३ महिना र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १० वर्ष ९ महिना छ । बुढीगण्डकी हाइड्रोपावरका अध्यक्ष खगेन्द्र न्यौपाने कम्पनीको अध्यक्ष तथा प्रवर्द्धक हुन् । उनको ५ लाख ८० हजार कित्ता सेयर छ । यस्तै गोरखाका कृष्ण प्रसाद घिमिरेको ३ लाख ३० हजार कित्ता, गोरखाकै सरोज धितालको ३ लाख कित्ता सेयर छ । घिमिरे र धिताल दुवै कम्पनीका सञ्चालक हुन् । त्यस्तै अर्का सञ्चालक राजकुमार गुरुङको ३ लाख २६ हजार ४७३ कित्ता, अनिता थापाको ६८ हजार कित्ता सुनिल श्रेष्ठको १ लाख ६७ हजार कित्ता सेयर छ ।
आयोजनाले २०७९ फागुन १७ बाट विद्युत उत्पादन गरिरहेको छ । चालु आर्थिक वर्षको पुस मसान्तको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३७ पैसा, प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ७६ पैसा र सञ्चित नाफा ४ करोड १३ लाख ५९ हजार छ ।








प्रतिक्रिया