
एजेन्सी । रुससँग विगत तीन वर्षदेखि युद्ध गरिरहेको युक्रेनले अब ६ महिनासम्म मात्र युद्ध गर्न सक्ने विज्ञहरूले आकलन गरेका छन् ।
द फाइनान्सियल टाइम्समा गिडियन राखमनको समाचार ‘नेटोज समिट क्यान्नट डिजगाइज युक्रेन्स प्लाइट’ मा उल्लेख भएअनुसार, युद्धमा रुस र युक्रेन दुवै थकित अवस्थामा पुगेका छन् । तर, रुसले अझै एक वर्षसम्म युद्ध गर्न सक्छ भने युक्रेनले बढीमा ६ महिनासम्म मात्र युद्ध गर्न सक्छ ।
अमेरिकाले पेट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका साथै हिमार्स आर्टिलरी रकेट उपलब्ध गराउने आशा युक्रेनले गरिरहेको छ । युक्रेनको हवाई प्रतिरक्षा प्रणाली कमजोर हुँदै गएकाले पेट्रियटको सख्त आवश्यकता परेको छ । तर, अमेरिकाका राष्ट्रपति ट्रम्पले नयाँ हतियार दिने विषयलाई स्पष्ट पारेका छैनन् ।
त्यसका साथै युक्रेनको सैनिक संख्याले पनि चिन्ता जन्माएको छ । त्यसमा युक्रेनका पश्चिमी साझेदारहरूले कुनै पनि सहयोग गर्न सक्दैनन् ।
रुसका १० लाखभन्दा बढी सैनिकको मृत्यु भएको वा घाइते भएको आकलन गरिएको छ । युक्रेनले पनि भारी क्षति बेहोरेको छ । रुसको जनसंख्या युक्रेनको भन्दा चारगुणा बढी भएकाले रुसलाई धेरै समस्या हुँदैन ।
त्यससँगै रुसले युक्रेनको राजधानी किएभ र अन्य शहरहरूमा क्षेप्यास्त्र आक्रमणको घनत्व बढाउँदा युक्रेनीहरूले हौसला गुमाउन थालेका छन् । विजयको कुनै सम्भावना नदेखिएको र युद्ध अन्त्य हुने छेकछन्द पनि नरहेको अवस्थामा युक्रेनमा हताशा छाउन लागेको राखमन लेख्छन् ।
युक्रेन सरकारमा पनि बिस्तारै मूड परिवर्तन हुन थालेको पाइन्छ । युद्धविरामका आवाजहरू सुनिन थालेका छन् । एक वर्षअघि मात्र युद्धविरामको कुरा उठ्दा त्यसलाई पराजयका रूपमा लिने गरिन्थ्यो ।
तर, युक्रेनी र पश्चिमी नेताहरूको भेटघाटमा युद्धविरामको पहल गर्नका लागि आग्रह गर्न थालिएको छ ।
रुसले युद्धविरामको सोच नबनाएको युरोपेली नीतिनिर्माताहरूको विश्वास छ । राखमनले कुरा गरेका एक युरोपेली अधिकारीले रुस अब ओडेसा हात पार्ने ध्याउन्नमा रहेको बताएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ओडेसालाई ऐतिहासिक रूपमा रुसी शहर मान्ने गरेका छन् । ओडेसा रुसको नियन्त्रणमा पुगेमा युक्रेनले आफ्नो प्रमुख बन्दरगाहलाई गुमाउनेछ ।
पश्चिमी साझेदारहरूबाट सैन्य र आर्थिक सहायता प्राप्त नगरेमा युक्रेनले विनाशकारी असफलता बेहोर्ने चेतावनी युरोपेली नेताहरूले दिएका छन् ।








प्रतिक्रिया