
काठमाडौं । नेपाल धितोपत्र बोर्डका सञ्चालक समिति सदस्यबाट नेपाल उद्योग वाणिज्य महासंघले गोकर्ण अवस्थीलाई फिर्ता बोलाएको छ । नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिने प्रक्रियाले तीब्रता पाउँदा महासंघले आफ्ना प्रतिनिधि फिर्ता बोलाएको हो ।
महासंघका महानिर्देशक तथा पूर्वआर्थिक पत्रकार अवस्थी २०८१ भदौमा नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य बनेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघबाट यसअघि एसोसिएट उपाध्यक्ष बोर्डमा जाने अभ्यास थियो । महासंघका वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल एसोसिएट उपाध्यक्ष हुँदा बोर्ड सञ्चालक समिति सदस्यमा प्रतिनिधित्व गरेका थिए । तर, उनी महासंघका वरिष्ठ उपाध्यक्ष बनेपछि आफैं बोर्डको सञ्चालक थिए । त्यसपछि अध्यक्ष बनेपछि उनले सुरूमा अञ्जन श्रेष्ठ र पछि सुरकृष्ण वैद्यलाई सञ्चालकका रूपमा पठाएका थिए । धितोपत्र बोर्ड ऐन संशोधन विधेयक संसदमा दर्ता भएपछि महासंघबाट महानिर्देशक अवस्थीलाई बोर्डको सञ्चालक बनाइएको थियो ।
धितोपत्र बोर्डमा सात सदस्यीय सञ्चालक समिति रहने व्यवस्था छ । तर बोर्डको सञ्चालक समितिमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का प्रतिनिधि रहने हालको व्यवस्था हटाउने तयारी भएको छ । ‘धितोपत्रसम्बन्धी ऐन ०६३’ लाई संशोधन गर्न बनेको विधेयकमा बोर्ड सञ्चालक समितिमा यी दुई संस्थाका प्रतिनिधि नराख्ने व्यवस्था प्रस्ताव गरिएको छ । बोर्डमा व्यवसायी रहँदा स्वार्थको द्वन्द्व हुने भन्दै विवाद छ ।
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सको विषय पनि पछिल्लो समय विवादमा छ । नयाँ स्टक एक्सचेञ्चका लागि शक्तिशाली व्यापारिक घराना आवद्ध भएका ३ वटा समूहले आवेदन दिएका छन् । नयाँ स्टक एक्स्चेन्जको लाइसेन्सका लागि हिमालयन स्टक एक्स्चेन्ज, नेसनल स्टक एक्स्चेन्ज र अन्नपूर्ण स्टक एक्स्चेन्जले बोर्डमा आवेदन दिएका थिए । यी ३ मध्ये एक कम्पनीले लाइसेन्स पाउनेछन् ।








प्रतिक्रिया