
एजेन्सी । रुसले शनिवार राति र आइतवार बिहान युक्रेनविरुद्ध ५३७ वटा ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी वायुसेनाले जनाएको छ ।
सन् २०२२ मा युद्ध शुरू भएयता रुसले युक्रेनमाथि गरेको सबभन्दा ठूला आक्रमणहरूमध्ये यो एक हो ।
उक्त आक्रमणको प्रतिकार गर्न गएको एफ–१६ लडाकू विमान ध्वस्त भएको र त्यसका विमानचालकको पनि मृत्यु भएको एबीसी न्युजले खबर दिएको छ ।
युक्रेनी वायुसेनाले रुसका ४३६ ड्रोन र ३८ वटा क्षेप्यास्त्रलाई वायुरक्षा प्रणालीले ध्वस्त पारेको जनायो । अमेरिकाले उपलब्ध गराएको एफ–१६ लडाकू विमानका चालकहरूले दर्जनौं ड्रोनहरूलाई खसाएको जानकारी पनि उसले दियो ।
त्यहीमध्येको एक लडाकू विमानमा रहेका लेफ्टिनेन्ट कर्नेल माक्सिम उस्तिमेन्कोले सातवटा तारोहरूलाई ध्वस्त पारेको र आठौं निशानालाई खसाउन खोज्दा विमान क्षतिग्रस्त भएको युक्रेनी वायुसेनाले जनायो ।
विमानमा आगो लाग्न थालेपछि उस्तिमेन्कोले आवासीय क्षेत्रलाई छलेर निर्जन ठाउँतिर विमान लगेको तर समयमै त्यसबाट भाग्न नसकेको युक्रेनी वायुसेनाले जनाएको छ ।
सन् २०२४ देखि युक्रेनले एफ–१६ विमान उडाउन थालेको हो । उस्तिमेन्को अब्बल दर्जाका लडाकू विमानचालक थिए । तर, उक्त विमान उडाउने क्रममा शहादत प्राप्त गर्ने तेस्रा युक्रेनी उस्तिमेन्को बन्न पुगेका छन् ।
अमेरिकी हतियार उद्योगको गर्वका रूपमा रहेको एफ–१६ लाई रुसी प्रतिरक्षा प्रणालीहरूले तारो बनाउने गरेका छन् । यी महँगा विमानहरूले पनि युक्रेनलाई हवाई प्रभुत्व दिलाउन नसकेको सैन्य विश्लेषकहरू बताउँछन् ।








प्रतिक्रिया